
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज ३० गते । दशैँ आयो..। बजारमा चहलपहल बढेको छ। घरघरमा जमरा राखिएका छन्। कतै नयाँ लुगा किन्ने हतारो छ, कतै मीठोमसिनो खानेकुराको जोहो भइरहेको छ। रोजगारी र अध्ययनका लागि घरबाहिर रहेकाहरू आफन्तसँग टीका लगाउन गाउँ फर्किने तयारीमा छन्। तर, यसपटक सबै नेपालीका लागि दशैँको खुसी उस्तै छैन।
कसैका लागि दशैँ परिवारसँग भेटघाट गर्ने अवसर बनेको छ भने कसैका लागि यही पर्व विगतका पीडा सम्झेर आँसु झार्ने समय। कसैको घर जाने बाटो पहिरोले छेकेको छ, कसैको आँगन बाढीले बगाएको छ। कसैको घर त छ, तर त्यहाँ पुग्ने सडक छैन। कतिपयका लागि घर, खेतबारी र वर्षौँको कमाइ बाढीपहिरोसँगै बगेपछि दशैँ मनाउने आधारसमेत बाँकी छैन।

पात्रोमा दशैँ आएको छ, तर विपत्तिमा परेका हजारौँ परिवारको मनमा भने खुसीको उज्यालो आउन सकेको छैन।
घर फर्किने बाटो नै हराएपछि
लगातारको वर्षा, बाढीपहिरो र सडक क्षतिले यस वर्षको दशैँ यात्रा सहज बन्न सकेको छैन। विशेषगरी त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा सडक सम्पर्क अवरुद्ध हुँदा घर फर्किन चाहने यात्रु समस्यामा परेका छन्।
दशैँमा गाउँ फर्किने तयारीमा रहेका धेरैले यसपटक यात्रा स्थगित गर्नुपर्ने अवस्था छ। सार्वजनिक यातायात नियमित रूपमा सञ्चालन हुन नसक्दा यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन्। कतिपय सडकको अवस्था जोखिमपूर्ण छ भने कतिपय स्थानमा बाढीले पुल र सडकका संरचना नै बगाएको छ।
वैकल्पिक भित्री सडक प्रयोग गरेर जसोतसो गन्तव्यसम्म पुग्ने प्रयास गरे पनि सबै ठाउँमा सडक पहुँच सम्भव छैन। त्रिशूली नदीका विभिन्न स्थानमा बेलिब्रिज, तुइन र फड्केजस्ता अस्थायी विकल्प बनाइए पनि तिनले सबैका लागि सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न सकेका छैनन्।

दशैँमा घर पुगेर परिवारसँग टीका लगाउने, मान्यजनको आशीर्वाद लिने र आफन्तसँग सुखदुःख साट्ने रहर बोकेका यात्रुका लागि बाटोको अवरोध केवल भौतिक समस्या होइन, परिवारसँग भेट्ने अवसर गुमाउनुको पीडा पनि हो। घर पुग्न नसक्नेहरूका लागि दशैँ यसपटक मोबाइल फोनमा परिवारको अनुहार हेरेर चित्त बुझाउनुपर्ने अवस्था बनेको छ। उता, घरमै रहेका परिवार पनि आफ्ना सन्तान र आफन्त फर्किने बाटो कुरिरहेका छन्।
घर छैन, खेत छैन, अब दशैँ कहाँ मनाउने ?
बाढीपहिरोले सबैभन्दा ठूलो चोट उनीहरूलाई दिएको छ, जसको जीवनको आधार नै प्राकृतिक विपत्तिले खोसेको छ। कसैको घर बग्यो, कसैको खेत पुरियो, कसैको बारीमा माटोको थुप्रो लागेको छ। वर्षौँको मेहनतले बनाएको घर, परिवार पाल्ने जमिन र दुःख गरेर जोडेको सम्पत्ति एकैपटक गुमाएका परिवारका लागि दशैँको अर्थ फेरिएको छ।
दशैँमा घर लिपपोत गर्ने, आँगन सफा गर्ने, नयाँ लुगा किन्ने र परिवारका सदस्यलाई मीठोमसिनो खुवाउने परम्परा छ। तर, घर नै नरहेपछि लिपपोत गर्ने ठाउँ कहाँ छरु खेतबारी बगेपछि अन्नको जोहो कसरी गर्नेरु वर्षौँको सम्पत्ति गुमाएपछि चाडपर्वका लागि खर्च जुटाउने आधार के बाँकी रहन्छ ?
अहिले कतिपय विपद्पीडित परिवार अस्थायी होल्डिङ सेन्टर र टेन्टमा आश्रय लिएर बसेका छन्। उनीहरूका लागि दशैँको तयारी भनेको नयाँ लुगा र मिठाइको जोहो गर्नु होइन, दैनिक गुजारा चलाउने र रात काट्ने व्यवस्था मिलाउनु हो। सरकारबाट प्राप्त राहत र हातमा बाँकी रहेको थोरै रकमको भरमा उनीहरू टेन्टमै भए पनि दशैँ मनाउने प्रयासमा छन्। परिवारका सदस्य, आफन्त र छिमेकीलाई सम्झँदै उनीहरू आफ्नो दुःख भुलाउने कोसिस गरिरहेका छन्। तर, टेन्टभित्रको दशैँ र आफ्नै घरको आँगनमा मनाइने दशैँबीच ठूलो अन्तर छ। टेन्टले वर्षाबाट जोगाउन सक्ला, तर गुमेको घरको सम्झना मेटाउन सक्दैन। राहतले केही दिनको छाक टार्न सघाउला, तर बगेको खेत, भत्किएको घर र उजाडिएको भविष्य तत्काल फर्काउन सक्दैन।

यही कारण विपद्पीडितका लागि यसपटक दशैँ खुसीभन्दा बढी अभाव, सम्झना र अनिश्चितताको पर्व बनेको छ।
कालीगण्डकीदेखि मर्स्याङ्दीसम्म उस्तै पीडा
त्रिशूली र भोटेकोशी क्षेत्रमा देखिएको विपत्तिको असर त्यहीँ मात्र सीमित छैन। कालीगण्डकी नदी क्षेत्रमा आएको भीषण वर्षा र बाढीले पनि विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। बाढीले पुल बगाउनुका साथै सडकका खण्डहरू क्षतिग्रस्त बनाउँदा कालीगण्डकी करिडोर आसपासको आवागमन प्रभावित भएको छ।
यसको असर मुस्ताङ, मनाङ र म्याग्दीका उत्तरी क्षेत्रतर्फको आवागमन तथा जनजीवनमा परेको छ। सडक र पुल क्षतिग्रस्त हुँदा यात्रु, स्थानीय बासिन्दा तथा सामान ढुवानीमा निर्भर समुदाय प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्थानीय व्यापार र पर्यटन गतिविधिमा समेत असर परेको छ। दशैँका बेला आफन्त भेट्न गाउँ फर्किने, गाउँबाट सहर आउने र चाडपर्वका लागि आवश्यक सामग्री ओसारपसार गर्ने काम प्रभावित हुँदा पर्वको रौनकसमेत खल्लो बनेको छ।
मनाङमा मर्स्याङ्दी नदी करिडोरको अवस्था पनि सहज छैन। नदीमा आएको बाढीले तालगाउँलगायतका क्षेत्रमा क्षति पुर्याउँदै स्थानीय जनजीवन अस्तव्यस्त बनाएको छ। सडक र नदी किनारका संरचनामा परेको क्षतिले आवागमन तथा दैनिक जीवनयापनमा थप चुनौती सिर्जना गरेको छ।
बाढीपहिरोले रसुवा, नुवाकोट, गोरखा, धादिङ, तनहुँ हुँदै चितवन र नवलपरासीसम्मका विभिन्न क्षेत्रलाई प्रभावित बनाएको छ। पर्वत, बागलुङलगायतका जिल्लामा पनि प्राकृतिक विपत्तिले क्षति पुर्याएको छ। कतिपय ठाउँमा बस्ती प्रभावित भएका छन् भने कतै सडक, पुल र खेतीयोग्य जमिनमा क्षति पुगेको छ।

यी फरक–फरक भूगोलका कथा भए पनि पीडाको प्रकृति उस्तै छ। कतै नदीले पुल बगाएको छ, कतै पहिरोले सडक पुरेको छ। कतै यात्रु घर पुग्न सकेका छैनन्, कतै घरमै रहेका मानिसले आफन्तलाई स्वागत गर्न सक्ने अवस्था गुमाएका छन्। प्राकृतिक विपत्तिले भूगोल मात्र छुट्याएको छैन, परिवारका सदस्यलाई समेत एकअर्काबाट टाढा बनाइदिएको छ।
राहतले छाक टर्ला, पीडा कसरी मेटिएला ?
विपद्पीडितका लागि सरकारले उपलब्ध गराउने राहत अहिलेको आवश्यकता हो। अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सेवाको व्यवस्था उनीहरूको जीवन जोगाउन महत्त्वपूर्ण छ। तर, राहत वितरणसँगै दीर्घकालीन पुनःस्थापनाको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।
घरबारविहीन परिवारलाई सुरक्षित आवासमा फर्काउने, क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्ने, खेतीयोग्य जमिनमा भएको क्षतिको मूल्याङ्कन गर्ने र जीविकोपार्जनका आधार पुनःस्थापित गर्ने कामबिना उनीहरूको जीवन सहज बन्न सक्दैन।
चाडपर्वका बेला राहत वितरण गर्नु मानवीय दायित्व हो। तर, विपद्पीडितले अर्को दशैँसम्म पनि टेन्टमै जीवन बिताउनुपर्ने अवस्था नआओस् भन्नका लागि पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राख्न आवश्यक छ।

विपत्तिपछि केही रकम उपलब्ध गराएर मात्र राज्यको दायित्व पूरा हुँदैन। प्रभावित परिवारले फेरि आफ्नै खुट्टामा उभिन सक्ने वातावरण बनाउनु पनि उत्तिकै जरुरी छ।
यस वर्षको दशैँले राज्यसामु केही गम्भीर प्रश्न खडा गरेको छ। सडक, पुल र बस्ती पुनर्निर्माणको गति कस्तो हुनेछरु घरबार गुमाएका नागरिक कहिले सुरक्षित आवासमा फर्कन पाउनेछन्रु विपद्पछि जीविकोपार्जनका आधार गुमाएका परिवारको भविष्य कसरी सुरक्षित गरिनेछरु
यी प्रश्नको जवाफ राहतको तत्कालीन व्यवस्थापनमा मात्र होइन, पुनःस्थापनाको प्रभावकारी योजनामा खोजिनुपर्छ।
कसैका लागि उत्सव, कसैका लागि आँसु लुकाउने दिन
दशैँ नेपालीको साझा पर्व हो। यसले परिवारलाई जोड्छ, टाढिएकालाई नजिक ल्याउँछ र दुःख बिर्सेर खुसी साट्ने अवसर दिन्छ। तर, विपत्तिले जीवन नै बदलिदिएका परिवारका लागि यही पर्वले अभाव र विछोडको अनुभूति अझ गहिरो बनाउन सक्छ।
सहरमा दशैँको किनमेल चलिरहँदा कुनै टेन्टमा बसेकी आमाले बगाएको घर सम्झिरहेकी हुन सक्छिन्। गाउँ फर्किन नपाएका कुनै यात्रुले फोनमा छोराछोरीको अनुहार हेरेर मन बुझाइरहेका हुन सक्छन्। खेत पुरिएपछि अर्को वर्ष परिवार कसरी पाल्ने भन्ने चिन्तामा डुबेको किसानका लागि टीका र जमराभन्दा भविष्यको प्रश्न ठूलो हुन सक्छ।

यी पीडाका बीच पनि मानिसहरू हार मानिरहेका छैनन्। उपलब्ध स्रोतसाधन जुटाएर, आफन्त सम्झेर र एकअर्कालाई सान्त्वना दिँदै उनीहरू दशैँ मनाउने प्रयासमा छन्। यही मानवीय धैर्य विपत्तिबीच बाँकी रहेको आशा हो। तर, उनीहरूको धैर्यलाई राज्यको जिम्मेवारीबाट पन्छिने आधार बनाउन मिल्दैन। पीडितले दुःख सहन सक्छन् भन्दैमा उनीहरूको पीडा सामान्य ठान्न मिल्दैन। चाडपर्वमा बाँडिने शुभकामना र सहानुभूति पुनःस्थापना, सुरक्षित आवास र सहज आवागमनको सुनिश्चिततासँग जोडिनुपर्छ।
यस वर्ष दशैँ सबैका घरमा एउटै रूपमा आएको छैन। कतै घरको आँगनमा टीका र जमराको रौनक छ, कतै अस्थायी टेन्टमुनि परिवारको साथ खोजिँदै छ। कतै सडकले आफन्तलाई भेटाएको छ, कतै भत्किएको सडकले परिवारलाई छुट्याएको छ। क्यालेन्डरमा दशैँको मिति फेरिएको छ। बजारमा चहलपहल बढेको छ। मन्दिरमा घण्टी बजिरहेका छन्। तर, बाढीपहिरोले घरबार, खेतबारी र आफन्तसँगको सहज भेटघाट खोसेका नागरिकका लागि समय अझै विपत्तिमै रोकिएको छ।
दशैँ पात्रोमा आउनु र मनमा आउनु फरक कुरा हो ।कसैका लागि यो खुसी बाँड्ने पर्व बनेको छ, कसैका लागि गुमेको संसार सम्झेर आँसु लुकाउने दिन । यस वर्ष धेरै विपद्पीडित नेपालीको दशैँ यही पीडाको नाममा लेखिएको छ।


















