
सुर्खेत, जेठ ६ गते । विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीको शैक्षिक नतिजामा सुधार देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष कर्णालीमा छ प्रतिशतले सुधार गरेको हो । २०८१ सालमा कर्णालीमा उत्तीर्ण प्रतिशत ५६.७८ भएकोमा यस पटक ६५.९८ प्रतिशत भएको छ ।
२०८० सालको एसइईमा ४१.५३ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष कर्णाली प्रदेशका १० जिल्लाबाट ३३ हजार ३३६ परीक्षार्थीले एसइई दिएका थिए । जसमध्ये १३ हजार २४१ जना उत्तीर्ण भएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । शिक्षामा क्रमिक रूपमा सुधार हुँदै गइरहेको निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताउनुभयो । प्रदेश सरकारले शैक्षिक गुणस्तरमा सुधार गर्ने नीति अवलम्बन गरेको भन्दै उहाँले शिक्षण सिकाइमा प्रविधिको प्रयोगले पनि शिक्षा सुधार हुँदै गएको जानकारी दिनुभयो ।
एसइईमा कर्णालीमा सुगमभन्दा दुर्गमका विद्यालयले सुधार गरेको देखिएको छ । रुकुमपश्चिम, मुगु, जाजरकोट, सल्यान, कालीकोट, जुम्ला जस्ता दुर्गम जिल्लाको उत्तीर्ण प्रतिशत सुधार भएको छ भने सुगम मानिएका सुर्खेत, दैलेख पछाडि परेका छन् ।
१० जिल्लामध्ये सबैभन्दा बढी उत्तीर्ण प्रतिशत रुकुमपश्चिमको छ । रुकुमपश्चिममा ७९.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भई प्रदेशकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने जिल्ला भएको छ । सबैभन्दा कम दैलेखमा ३१.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन । गत आर्थिक वर्ष २०८१/८२ मा शिक्षा क्षेत्रमा बजेट वृद्धि गरेको सरकारले यस वर्ष फेरि घटाएको छ । गत वर्ष कुल बजेटको शिक्षा क्षेत्रमा ५.८ प्रतिशत बजेट विनियोजन भएको थियो ।
यो वर्ष सामाजिक विकास मन्त्रालयले कुल बजेटको ३.५ प्रतिशत बजेट मात्र विनियोजन गरेको छ । चालु आवमा कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपियाँको बजेट ल्याएको छ ।










