
नेपालगन्ज, असार ३० गते । भारतका विभिन्न राज्य र नेपालका केही स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) देखिएपछि सीमावर्ती जिल्ला बाँके उच्च जोखिममा परेको छ ।
सरकारले भारतबाट कुखुरा तथा कुखुराजन्य उत्पादनको आयातमा प्रतिबन्ध लगाएको भए पनि सीमापारिबाट अवैध रूपमा कुखुरा भित्रिने क्रम नरोकिँदा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
सीमाक्षेत्रमा सुरक्षा निगरानी कडा पारिए पनि सुरक्षाकर्मीले दैनिक जसो अवैध रूपमा ल्याइएका कुखुरा नियन्त्रणमा लिइरहेको घटनाले अवैध आयात पूर्ण रूपमा रोक्न नसकिएको देखिएको छ । स्थानीयका अनुसार खुला सीमा र चोरीपैठारीका कारण बर्डफ्लु भित्रिने जोखिम अझै कायम छ ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सीमापारिबाट कुखुरा भित्रिने क्रम नरोकिनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो । उहाँले नेपालगन्ज क्षेत्र सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै बर्डफ्लु जस्तो सङ्क्रामक रोग रोक्न सरकारले सीमानाकामा थप कडाइ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कुखुरापालक किसान र व्यवसायीले पनि अवैध आयात रोक्न नसकिए बर्डफ्लु फैलिन सक्ने र त्यसले मानव स्वास्थ्यसँगै पोल्ट्री व्यवसायमा ठुलो क्षति पु¥याउने बताएका छन् । रजा ग्रुपका सञ्चालक मुख्तार राईले स्वदेशी पोल्ट्री उद्योगको संरक्षण र बर्डफ्लु नियन्त्रणका लागि भारतीय कुखुराको अवैध आयात पूर्ण रूपमा रोक्नुपर्ने बताउनुभयो ।
कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खानले पनि बर्डफ्लुले सम्पूर्ण पोल्ट्री व्यवसाय धराशायी बनाउन सक्ने भएकाले सीमामा प्रभावकारी निगरानी अपरिहार्य रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले मुख्य तथा सहायक सीमानाकामा सुरक्षाकर्मी परिचालन गरी भारतबाट कुखुरा भित्र्याउने प्रयास रोकिएको बताउनुभयो । उहाँका अनुसार अवैध रूपमा कुखुरा ल्याउने प्रयास गर्ने व्यक्तिलाई कुखुरासहित नियन्त्रणमा लिने कार्य निरन्तर भइरहेको छ ।











