
वासुलिङ (बैतडी), असार ३० गते । वर्षायाम सुरु भएसँगै बैतडीका अधिकांश ग्रामीण सडक जीर्ण बनेपछि सर्वसाधारणको दैनिक आवतजावत कष्टकर बनेको छ । सडक हिलाम्मे हुनु, ठाउँ ठाउँमा पहिरो खस्नु, खाल्टाखुल्टी बढ्नु र नियमित मर्मत नहुँदा यातायात सेवा प्रभावित भएको छ ।
गाउँका बासिन्दा, विद्यार्थी, बिरामी तथा व्यापारी सबैभन्दा बढी समस्यामा परेका छन् । दशरथ चन्द, पाटन, मेलौली, पुर्चौडी, सुर्नया, शिवनाथ, डिलासैनी, सिगास र अन्य स्थानीय तहका ग्रामीण सडकमा वर्षासँगै यात्रा जोखिमपूर्ण बनेको पुर्चौडी नगरपालिका–२ का स्थानीय कृष्णदेव भट्टले बताउनुभयो । नगरपालिकाका कतिपय स्थानमा सवारीसाधन घण्टौँसम्म रोकिनुपर्ने अवस्था रहेको छ भने केही सडकमा पैदलयात्रा गर्नसमेत कठिन भएको उहाँले बताउनुभयो ।
पाटन नगरपालिका–१ का स्थानीय कृष्णसिंह बोहोराले सडकको दयनीय अवस्थाका कारण छोटो दुरी पार गर्न पनि धेरै समय लाग्ने गरेको बताउनुभयो । बिरामीलाई अस्पताल लैजानुपर्दा झन् ठुलो समस्या हुन्छ । उहाँ भन्नुहुन्छ, “सडक समयमै मर्मत नहुँदा हरेक वर्ष उस्तै सास्ती भोगिरहेका छौँ ।” मेलौली नगरपालिका–५ की स्थानीय सरस्वती चन्दले वर्षायाममा सार्वजनिक सवारी अनियमित हुँदा नगरपालिकामा जानआउन कर्मचारी र विद्यार्थीलाई दैनिक गन्तव्यमा पुग्न कठिन हुने गरेको बताउनुभयो ।
सडक बिग्रिएपछि गाडी चलाउन चालक पनि डराउँछन् । यात्रा असुरक्षित महसुस हुने गरेको उहाँले बताउनुभयो । सडक जीर्ण हुँदा सवारीसाधनमा बारम्बार प्राविधिक समस्या आउने, सञ्चालन खर्च बढ्ने र दुर्घटनाको जोखिमसमेत बढेको छ । सडकको अवस्थाका कारण केही ग्रामीण क्षेत्रमा नियमित यातायात सेवा सञ्चालन गर्न कठिन भइरहेको यातायात व्यवसायी सुरेश लुहारले बताउनुभयो । पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख धीरेन्द्र भट्टले वर्षायामका कारण केही सडकमा समस्या देखिएको स्वीकार गर्दै अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने र आवश्यक मर्मतलाई प्राथमिकता दिइएको बताउनुभयो ।
स्थानीय तहसँग समन्वय गरेर पहिरो पन्छाउने तथा जोखिमयुक्त सडक मर्मत गर्ने काम भइरहेको उहाँको भनाइ छ । यस्तै वर्षायाममा अत्यावश्यकबाहेक रातिको यात्रा नगर्न, मौसमको जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
बर्सेनि सडक स्तरोन्नतिका लागि बजेट विनियोजन हुने भए पनि समयमै गुणस्तरीय निर्माण र नियमित मर्मत नहुँदा समस्या दोहोरिने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् । ग्रामीण सडकलाई दिगो र सुरक्षित बनाउन सम्बन्धित निकायले प्रभावकारी योजना कार्यान्वयन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।











