
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २५ गते ।रोहित पौडेलको शतकको मद्दतमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलामा क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमेरेट क्रिकेट मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली २३५ रनमा अलआउट भयो।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक १०१ रनको योगदान दिए। उनले १२७ बलमा आठ चौका र एक छक्का हाने।
गुल्सन झा ३४ बलमा ४ चौका र ३ छक्का सहयोगमा ४८ रन थप्दै आउट भए। बसिर अहमदले ३० रन बनाए।
ओपनर अर्जुन कुमाल ५४ बलमा २३ रन बनाउँदा आउट हुन पुगे। आशिफ शेख ३ बलमा एक चौका हान्दै अखिल कुमारको बलमा आरोन जोनसनको हातबाट क्याच आउट भए।
इसान पाण्डे शून्यमा नै पेभेलियन फर्किए। करण केसी आठ र दीपेन्द्रसिंह ऐरी ६ रन बनाए।
क्यानडाका लागि अखिल कुमारले चार, सुखजिन्दर सिंह तीन र जाहिद सिरजादले दुई विकेट लिए।


















