
काठमाडौं, १९ जुलाई २०२६ — एसियाली विकास बैंक (एडीबी), ह्वावे नेपाल र विश्व निकेतन माध्यमिक विद्यालयले संयुक्त रूपमा स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सञ्चालन गर्दै नेपालको पहिलो सहकार्यात्मक स्मार्ट शिक्षा प्लेटफर्म शुभारम्भ गरेका छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा सुरु गरिएको यस पहलले काठमाडौं उपत्यकाभित्रको विद्यालयलाई उपत्यका बाहिरका विद्यालयहरूसँग डिजिटल माध्यमबाट जोड्नेछ। प्रत्यक्ष वैज्ञानिक अनुसन्धान सत्र, अन्तरक्रियात्मक कक्षा तथा वास्तविक समयमै ज्ञान आदान–प्रदानमार्फत विद्यार्थी र शिक्षकहरूले संयुक्त रूपमा सिकाइ गर्ने अवसर प्राप्त गर्नेछन्।
ह्वावेको स्मार्ट कक्षा समाधानमार्फत दुर्गम क्षेत्रका विद्यार्थीहरूले गुणस्तरीय विज्ञान शिक्षा, अन्तरक्रियात्मक डिजिटल शैक्षिक सामग्री तथा विश्व निकेतनका विद्यार्थीहरूसँग सहकार्यात्मक रूपमा अध्ययन गर्ने अवसर पाउनेछन्। साथै, शिक्षकहरूले पनि शिक्षण अनुभव आदान–प्रदान गर्दै संयुक्त रूपमा कक्षा सञ्चालन गर्न सक्नेछन्।
कार्यक्रममा बोल्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले शिक्षाको भविष्य विद्यार्थीको भौगोलिक अवस्थाले होइन, उसले प्राप्त गर्ने अवसरले निर्धारण गर्ने बताउनुभयो। नेपालभरका कक्षाकोठाहरूलाई आपसमा जोडेर विद्यार्थी र शिक्षकबीच सहकार्य तथा समावेशी र भविष्यका लागि तयार शिक्षा प्रणाली निर्माण गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो।
त्यसैगरी एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जियान शुले नवप्रवर्तन, सहकार्य र डिजिटल प्रविधिको उपयोगमार्फत सबै विद्यार्थीका लागि गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने एडीबीको प्रतिबद्धतालाई यो सहकार्यले थप मजबुत बनाएको बताउनुभयो।
यस पहलले वैज्ञानिक साक्षरता अभिवृद्धि, शिक्षणको गुणस्तर सुधार तथा स्मार्ट, आपसमा जोडिएको र समतामूलक शिक्षा प्रणालीमार्फत नेपालको डिजिटल रूपान्तरणलाई गति दिने अपेक्षा गरिएको छ।









