
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २६ गते । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ।
यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ।
पर्वत र बागलुङ जोड्ने मालढुंगाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौं जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।
बेनी –२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारीसाधनको जाम हुने, साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताए।
ुनदी कटान र पहिरोका कारण एक सय मिटर दूरीमा सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको र दबेको छ, उनले भने, सवारीसाधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो। हाल ढलान गरेको सडक सबै भासिएको छ।
जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समाधान हुन नसकेको बताए।
ुसडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेको जस्तो अवस्था हुन्छ, उनले भने,सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोगले तार्ने गरिएको छ। भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल गरेर तटबन्धका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालयमार्फत पहल गरिएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताए।










