
तौलिहवा (कपिलवस्तु ), असार ५ गते ।कपिलवस्तु नगरपालिका वडा नं. १० का दुई जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ ।
कार्यक्रममा दैनिक जीवनयापनमा सहजता पुर्याउन आवश्यकताका आधारमा छनोट गरिएका लाभग्राहीलाई ह्विलचेयर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख पौडेलले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्ण जीवनयापन तथा सामाजिक सहभागिता सुनिश्चित गर्न स्थानीय सरकारले विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले यस्ता सहयोगले लाभग्राहीको आत्मनिर्भरता अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले संस्थाले समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिको पहिचान, पुनःस्थापना तथा आवश्यक सहयोगका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो ।
उहाँले विभिन्न निकायबीचको सहकार्यले सेवाग्राहीसम्म प्रभावकारी सेवा पुर्याउन सहज भएको धारणा राख्नुभयो ।ह्विलचेयर व्यवस्थापन, सहजीकरण तथा सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र र करुणा फाउन्डेसन नेपालको सहयोग रहेको थियो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष मनदीप सिंह, कपिलवस्तु नगरपालिका वडा नं.१ का वडाध्यक्ष मोहम्मद जाहिद खाँ, वडा नं. १० का वडाध्यक्ष मोहनलाल शर्मा तथा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।









