
सुर्खेत, साउन १३ गते । कुनै पनि ठुलो शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीलाई बेहोस पार्नु पर्छ । सुर्खेतस्थित प्रदेश अस्पतालमा विगत चार वर्षदेखि यो काम डा. पूजन बल्लभले गर्दै आउनुभएको छ । प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट भएर काम गर्दै आउनुभएका ११ औँ तहका डा. बल्लभकै सेवाका कारण प्रदेश अस्पतालमा ठुला शल्यक्रिया हुने गरेका छन् । भक्तपुर घर भएका डा. बल्लभले चार वर्षदेखि यही अस्पतालमा काम गर्दै रमाइरहनुभएको छ ।
यसै गरी डा. तेजेन्द्र साउद पनि पाँच वर्षदेखि प्रदेश अस्पतालमा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । आफ्नो विषयमा नेपाल टप गर्नुभएका काठमाडौँ निवासी उहाँ सङ्घीय स्थायी दरबन्दीका रूपमा काम गरिरहनुभएको छ । प्रदेश अस्पतालमा आउने विशेष गरी हाडजोर्नी र नसारोगका बिरामीलाई उहाँले सेवा दिइरहनुभएको छ ।
यस्तै अर्घाघाँची निवासी डा. केएन पौडेल प्रदेशका विशेष गरी मधुमेह, रक्तचाप र थाइराइडका बिरामीबिच परिचित नाम हो । १० औँ तहका डा. पौडेल सुर्खेतमा १० वर्षदेखि कार्यरत हुनुहुन्छ । फिजिसियन डाक्टरका रूपमा कार्यरत उहाँलाई योबिचमा धेरै अफर आए पनि उहाँ यहीँ रमाइरहनुभएको छ ।
त्यति मात्र होइन, प्रदेश अस्पतालका हाल निर्देशकसमेत रहनुभएका डा. गणेश थापा १८ वर्षदेखि कार्यरत हुनुहुन्छ । प्रमुख कन्सल्टेन्टका रूपमा उहाँ ११ औँ तहको डाक्टर हो । अस्पतालको निर्देशकको भूमिकाका साथै सर्जरी विभाग प्रमुखसमेत भई उहाँले प्रदेश अस्पतालका प्रमुख शल्यक्रिया गरिरहनुभएको छ । प्रदेश अस्पतालमा कम्तीमा चार/पाँच वर्षदेखि कार्यरत डाक्टरहरू हुनुहुन्छ । जसले सुविधासम्पन्न ठाउँ छाडेर यहीँबाट सेवा दिइरहनुभएको छ ।
आशा गरे अनुसारको सुविधा नपाएको, अवसर नपाएको निहुँमा धेरै डाक्टर आउन नमान्ने, आए पनि एक वर्षभित्रै छोडेर जाने समस्याले प्रदेश अस्पताल ग्रसित छ । अझै पनि कतिपय दरबन्दी रिक्त छन् । जनशक्तिको अभाव भोगिरहन पनि भएकै जनशक्तिले भने आआफ्नो ठाउँबाट अब्बल सेवा प्रदान गरिरहेका छन् । मिर्गौलाको शल्यक्रियामा पनि प्रदेश अस्पतालकै धेरै जसो जनशक्ति परिचालित भएको अस्पतालले जनाएको छ ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. अमित सिंह १० वर्षदेखि, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. रविन केसी पाँच वर्षदेखि, नाक, कान, घाँटीका गोल्डमेडिलिस्ट डा. स्मृति वैद्य तीन वर्षदेखि, हाडजोर्नी विशेषज्ञ डा. विकास केसी चार वर्षदेखि, छालारोग विशेषज्ञ डा. सुस्मिता प्रधान पाँच वर्षदेखि सुर्खेतमै कार्यरत हुनुहुन्छ । उहाँहरूको घर विशेषतः कर्णाली प्रदेशबाहिर हो । जनशक्तिको अभाव भइरहेका बेला यी डाक्टरले प्रदेश अस्पतालमै बसेर यहाँको सेवा अब्बल बनाइरहनुभएको छ ।
डा. पूजन बल्लभले आर्थिक प्रोत्साहन र अवसर धेरै भएको हुँदा आफू यहीँ बसेर काम गर्न इच्छुक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “डाक्टरलाई चाहिने आर्थिक सुविधा, कामको अवसर, बिरामीको चाप नै हो त्यो यहाँ मिलिरहेको छ ।”
यदि श्रीमान्श्रीमती दुवै जना डाक्टर भए उनीहरूलाई एकै स्थानमा बसेर सेवा गर्ने वातावरण मिलाउन सके अझ राम्रो हुने र जनशक्तिको कमी नहुने उहाँको भनाइ छ ।
यस्तै प्रदेश अस्पतालमा कार्यरत डा. शुभ श्रेष्ठले नभएका जनशक्तिलाई ल्याउन पहल गर्नुका साथै भएका जनशक्तिले पु¥याइरहेको योगदानको पनि सम्मान गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बर्सौंदेखि यहीँ बसेर सेवा दिइरहनुभएका डाक्टरको योगदानको सम्मान गर्न सके अरूलाई पनि प्रेरणा मिल्ने छ । जनशक्ति अभावलाई कम गर्न भएको जनशक्तिको पनि मूल्याङ्कन हुनु जरुरी छ ।”
अस्पतालका सूचना अधिकारी उपसचिव अनिता ज्ञवालीले अस्पतालमा कार्यरत डाक्टरलगायतलाई प्रदेश सरकारले प्रदान गर्ने प्रोत्साहनका साथै अस्पताल विकास समितिमार्फत पनि प्रोत्साहन र अवसर प्रदान गरिरहेको बताउनुभयो । उहाँले प्रदेश अस्पताल प्रदेश सरकारमातहत भएका कारण जनशक्ति टिकाउनका लागि प्रदेश सरकारले नै विभिन्न योजना विगतदेखि नै ल्याएको उल्लेख गर्नुभयो । अभाव भएका जनशक्ति पूर्ति गर्न र भएका जनशक्तिलाई टिकाइराख्नका लागि प्रदेश सरकार, अस्पताल विकास समिति दुवैले योगदान पु¥याइरहेको उहाँको भनाइ छ ।
प्रदेश अस्प्तालमा हाल विभिन्न किसिमका गरी ५४० जना जनशक्ति रहेका छन् भने अझै एक सय पद रिक्त छ । स्वीकृत दरबन्दी ३२५ जनामा स्थायी १९२ जना, ३३ जना करारमा कार्यरत छन् । अस्पताल विकास समितिबाट ४९ जना, अन्य करार २६६ गरी ५४० जना कार्यरत छन् । प्रदेश अस्पतालमा दैनिक छ सयदेखि एक हजारसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।











