
काठमाडौँ, असार ३ गते । झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक पाडाजुँगी–गौरीगञ्ज भित्री सडकखण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भिर घाइते भएका गुरागाईको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र दमक अस्पताल पुर्याउन साथ मङ्गलबार राती ९ बजे मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो ।
टिपरको गति अत्याधिक रहेको स्थानीयले बताएकाछन् । प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपर र चालक गौरादह–१ निवासी ३५ वर्षीय उमेश ताजपुरीयालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको छ ।
मृतकका आफन्तले टिपरको लापरवाहीका कारण दुर्घटना भएको भन्दै छानविनको माग गरेका छन् ।










