
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविराम भएको घोषणा गरेका छन्। यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने सम्झौताका विस्तृत विवरण आफूहरूले अझै प्राप्त गर्न बाँकी रहेको बताएका छन्।
आइतबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेन ऊर्जा युद्धविरामका लागि सहमत भएको उल्लेख गरेका हुन्।
ुतत्काल लागू हुने गरी रुस र युक्रेनबीचको युद्धमा ऊर्जा युद्धविराम भएको छ। दुवै पक्ष सहमत भएका छन्। यसलाई नतोड्नुहोला, उनले लेखेका छन्।
तर रुसले ट्रम्पको घोषणाबारे औपचारिक प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । युक्रेनले पनि सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छैन। जेलेन्स्कीले आफूले युद्धविरामको घोषणाबारे नेटोका महासचिव मार्क रुटे, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्सँग छलफल गरेको बताएका छन्।
ुयुक्रेन युद्धविरामको समर्थन गर्छ। रुसले पनि यसलाई समर्थन गर्नु महत्त्वपूर्ण छ। हामी अमेरिकी पक्षबाट विवरणको प्रतीक्षामा छौं,ु उनले टेलिग्राममा लेखेका छन्। यद्यपि ट्रम्पको घोषणापछि पनि रुसी सेनाले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेको जेलेन्स्कीले बताएका छन्।
उनका अनुसार युक्रेनको दोस्रो ठूलो सहर खार्किभस्थित ताप तथा विद्युत् उत्पादन गर्ने संयुक्त केन्द्रमा पनि रुसी आक्रमण भएको थियो। युक्रेनी अधिकारीले उक्त आक्रमण ट्रम्पको घोषणापछि भएको पुष्टि गरेका छन्।
ट्रम्पको घोषणा युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गर्दै आएको आक्रमण रोक्न अमेरिकाले दबाब बढाइरहेका बेला आएको हो। शनिबार ट्रम्पले जेलेन्स्कीलाई रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्न बन्द गर्न चेतावनी दिएका थिए। उनले जेलेन्स्कीले रुससँग सम्झौता गर्ने धेरै अवसर गुमाएको भन्दै युक्रेनमा नयाँ निर्वाचन गराएर नेतृत्व परिवर्तन गर्नसमेत आग्रह गरेका थिए।
यसअघि पनि ट्रम्पले सेप्टेम्बरको मध्यतिर रुस–युक्रेनबीच ऊर्जा युद्धविराम भएको घोषणा गरेका थिए। तर त्यतिबेला दुवै देशले त्यस्तो सम्झौता भएको पुष्टि गरेका थिएनन्। अमेरिकाले युक्रेनलाई दिँदै आएको गुप्तचर सूचना साझेदारी रोक्ने तथा हतियार खरिदमा सहयोग बन्द गर्ने चेतावनी दिएर रुसी ऊर्जा केन्द्रमा आक्रमण रोक्न दबाब दिएको विषयसँग परिचित एक व्यक्तिले बताएका छन्।
ट्रम्पले सन् २०२२ मा रुसले आक्रमण सुरु गरेपछि रोकिएको युक्रेनको निर्वाचन गराउन पनि आग्रह गरेका छन्। त्यसको जवाफमा जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ६० दिन युद्धविराम गर्न सहमति जनाए आफू निर्वाचन गराउन तयार रहेको बताएका छन्। पुटिनलाई भनिदिनुहोस्, हामीलाई दुई महिना, ६० दिन पूर्ण युद्धविराम दिनुहोस् र हामी निर्वाचन गराउनेछौँ, जेलेन्स्कीले भने। उनले युक्रेनको नेता कसलाई बनाउने भन्ने निर्णय युक्रेनी जनताले नै गर्ने बताए। तर त्यसअघि युद्ध रोकिनुपर्ने उनको भनाइ छ। युक्रेनी कानुनअनुसार सुरक्षा कारणले सैनिक शासन लागू भएको अवस्थामा निर्वाचन गर्न पाइँदैन।
ऊर्जा मूल्य बढ्नुमा आफ्नो देशको युद्ध जिम्मेवार रहेको ट्रम्पको आरोप पनि जेलेन्स्कीले अस्वीकार गरेका छन्। मध्यपूर्वको युद्धले विश्वव्यापी इन्धन मूल्य बढाउन ठूलो भूमिका खेलेको कुरा संसारका सबैलाई थाहा भएको उनको भनाइ छ।


















