
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २५ गते ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको तीव्र आलोचना गर्दै युक्रेनले नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
रुसी इन्धन पूर्वाधारमा युक्रेनले गरिरहेको लगातारको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै ट्रम्पले जेलेन्स्कीको साटो नयाँ राष्ट्रपति खोज्ने समय आएको दाबी गरेका हुन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनको आक्रमणका कारण विश्वव्यापी डिजेल आपूर्तिमा गम्भीर असर परेको आरोप लगाए ।
रुसले विश्वभर ठूलो मात्रामा डिजेल आपूर्ति गर्छ, तर जेलेन्स्कीले रुसी पूर्वाधारहरुमा आक्रमण गरेर डिजेलको अभाव सिर्जना गरिदिएका छन् । हाम्रा किसान र पशुपालकहरूका लागि समस्या खडा गर्न खोजिरहेका छन्, ट्रम्पले भने, युक्रेनले अब सम्झौता गर्न सक्ने नयाँ नेता ल्याउने समय भइसकेको छ ।
यसअघि ट्रम्पले रुसमाथि अमेरिकाले लगाएको इन्धन प्रतिबन्ध अस्थायी रुपमा खोल्ने घोषणा गरेका थिए । जसअनुसार ७ अप्रिल २०२७ सम्म रुसले कुनै प्रतिबन्ध सामना गर्नुपर्ने छैन । रुसले अमेरिकालाई ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा पनि गरेको छ ।
जेलेन्स्कीले ट्रम्पको यस कदमको कडा निन्दा गरेका थिए । यस कदमबाट रुसलाई ठूलो फाइदा हुने र त्यसलाई रूसले युक्रेन युद्धमा लगाउने उनको दाबी छ ।
आउँदो महिना हुने मध्यवधि निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकामा बढेको इन्धनको मूल्य ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि राजनीतिक चुनौती बनेको छ ।
रुसबाट डिजेल खरिद गरेर इन्धनको अभाव कम गर्ने योजना ट्रम्पले अघि सारेका छन् । रुसले प्रतिबन्ध अस्थायी रुपमा हटेको पुष्टि गर्दै यसका लागि ट्रम्पलाई धन्यवाद दिएको छ । यसैबीच रुसले शनिबारै युक्रेनको जापोरिजिया सहरमा भीषण बमबारी गरेको छ ।
सो आक्रमणमा ३ बालबालिकासहित २० जनाको मृत्यु भएको छ । रुसी डिजेल निर्यातमाथिको प्रतिबन्ध हटाएकोमा रुसले जापोरिजियाका आवासीय भवनहरूमा पाँचवटा गाइड बम खसालेर ट्रम्पलाई ुधन्यवादु ज्ञापन गरेको छ, जेलेन्स्कीले आक्रोश पोख्दै भने ।
रुसमाथिको दबाब कम गर्दा उसले आक्रमणलाई अझ बढाउने भन्दै उनले वासिङ्टनलाई रुसविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध जारी छ ।


















