
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज ३० गते । नेपालले चीनको सिचाङ ( तिब्बत) क्षेत्रको अनुभवबाट संस्कृति र सम्पदा संरक्षणसँगै विकासका प्रभावकारी मोडलहरू सिक्न सक्ने सरोकारवालाहरूले बताएका छन् ।
नेपाल–तिब्बतको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै विकास, पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्पदाको संरक्षणमा सहकार्यका सम्भावना खोज्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।
साइनो नेपाल कल्चर एण्ड टुरिजम प्रमोशन सोसाइटीको आयोजनामा आज आयोजित ‘नेपालले सिचाङ (तिब्बत) बाट के सिक्न सक्छ ? ’ विषयक वृत्तचित्र प्रदर्शन तथा विज्ञ समूह छलफल कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि पूर्वउपसभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले नेपालले तत्कालीन तिब्बत तथा हालको सिचाङ क्षेत्रबाट सांस्कृतिक र सम्पदा संरक्षणका विषयमा मात्र नभई विकासका मोडलहरूबाट समेत सिक्न सक्ने बताइन् ।

चीन सरकारको नेतृत्वमा तिब्बतले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उनले नागरिकलाई आवश्यक सुविधा उपलब्ध गराउन सके जनतालाई सन्तुष्ट बनाउन सकिने बताइन् । नागरिकको जीवनस्तर सुधार र सार्वजनिक सुविधाको विस्तारका दृष्टिले तिब्बत अर्थात् हालको सिचाङको अनुभव नेपालका लागि सिकाइको विषय हुन सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत ध्रुव निरौलाले नेपाल र तत्कालीन तिब्बतबीचको सम्बन्ध भृकुटी र अरनिकोको समयभन्दा पनि पुरानो रहेको बताए । इस्वी संवत्को प्रारम्भदेखि नै दुई क्षेत्रबीच सम्बन्ध र आदानप्रदान हुँदै आएको उल्लेख गर्दै उनले तिब्बतमा अहिले पनि नेपाली, विशेषगरी नेवार संस्कृतिसँग मिल्दोजुल्दो सांस्कृतिक अभ्यासहरू भेटिने बताए ।

नेपाल र तिब्बतबीचको ऐतिहासिक सम्बन्धलाई सांस्कृतिक तथा विकास साझेदारीका माध्यमबाट थप सुदृढ गर्न सकिने धारणा राख्दै निरौलाले संस्कृति संरक्षण, सम्पदाको जगेर्ना र विकास निर्माणका क्षेत्रमा तिब्बतको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए । यति धेरै सम्भावना हुँदाहुँदै पनि नेपालले अपेक्षित लाभ लिन नसकेको उनको भनाइ थियो । यस्ता कार्यक्रममार्फत दुई पक्षबीचको सम्बन्ध र सहकार्यका नयाँ सम्भावना पहिचान गर्न आफूले पहल गरिरहेको उनले जानकारी दिए ।
साइनो नेपाल कल्चर एण्ड टुरिजम प्रमोशन सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले पत्रकार, कलाकार तथा संस्कृतिविद्सहित आठ सदस्यीय भ्रमण टोलीले तिब्बत भ्रमणका क्रममा विभिन्न महत्त्वपूर्ण अनुभव हासिल गरेको बताए । भ्रमणका क्रममा देखेका, बुझेका र नेपालका लागि उपयोगी हुन सक्ने विषयलाई समेटेर वृत्तचित्र निर्माण गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा प्रस्तुत वृत्तचित्रमा नेपाल–तिब्बत सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक आदानप्रदान, सम्पदा संरक्षण, पर्यावरण संरक्षण तथा विकासका अभ्यासलगायत विषय समेटिएका थिए । वृत्तचित्रले तिब्बतको अनुभवबाट नेपालले सिक्न सक्ने पक्षलाई उजागर गर्नुका साथै दुई क्षेत्रबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप बुझ्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
वृत्तचित्र प्रदर्शनपछि आयोजित विज्ञ समूह छलफलमा सहभागीहरूले नेपालले तिब्बत तथा सिचुवानका अनुभवलाई आफ्नो भौगोलिक, सामाजिक र आर्थिक परिवेशअनुसार उपयोग गर्न सक्ने सम्भावनाबारे चर्चा गरेका थिए । संस्कृति र सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन, वातावरणीय सन्तुलन तथा पूर्वाधार विकासका क्षेत्रमा अनुभव आदानप्रदान र सहकार्यलाई विस्तार गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
नेपालले आफ्नो मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै अन्य क्षेत्रका सफल अभ्यासबाट सिक्न सके दिगो विकास तथा पर्यटन प्रवर्द्धनमा थप उपलब्धि हासिल गर्न सक्ने सन्देश कार्यक्रमले दिएको छ ।
















