
खलङ्गा (दार्चुला), साउन १३ गते । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिएर एक जनाको ज्यान गएको छ । यहाँको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीमा भएर बग्ने गाडखोलामा निर्माण गरिएको काठे पुल भाँचिँदा सोही गाउँपालिका–८ गौलका अन्दाजी ५६ वर्षीय धनसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देबेन्द्रसिंह बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार काठको जीर्ण पुलबाट खोला तर्न खोज्दा पुल भाँचिएर धामी खोलामा खस्नुभएको थियो । सोमबार साँझ घरबाट तेल किन्न स्थानीय बजार मेलखेत जानुभएका धामी राति अबेरसम्म घर नफर्केपछि खोजी गरिएको थियो ।
खोजी गर्ने क्रममा मङ्गलबार बिहान पुलभन्दा करिब तीन सय मिटर तल खोलामा उहाँको शव फेला परेको प्रहरीले जनाएको छ । उहाँको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । काठको पुल गत वर्ष निर्माण गरिएको थियो । सोही ठाउँनजिकै झोलुङ्गे पुल रहे पनि बाटो छोटो पर्ने भन्दै अधिकांश मानिस काठे पुलबाटै नदी वारपार गर्ने गर्थे ।











