
इलाम, साउन १३ गते । इलामको फाकफोकथुम–६, हाङमाचुलीका इन्द्र श्रेष्ठलाई यो वर्ष खेतबारीमा पानी लगाउन निकै सजिलो भएको छ । उहाँले बर्सेनि पैसा खर्च गरेरै कुलोको रुँगालो राख्नुुहुन्थ्यो तर अब त्यो झन्झट हटेको छ ।
आफ्नो गाउँमा सिँचाइका लागि पक्की कुलो निर्माण भएपछि श्रेष्ठलाई मात्र होइन सबै गाउँले दिनरात कुुलाको रुँगालो बस्न छोडेका छन् । “पहिला पहिला पानीमा झगडा नै पथ्र्यो । कुुलो लगाउने पालो नै आउँदैन्थ्यो,” श्रेष्ठले भन्नुुभयो, “अहिले पक्की कुुलो निर्माण भएपछि यहाँका किसानको दिनचर्या नै फेरिएको छ । कुलोको रुँगालो गर्ने समयमा खेती गर्न थालिएको छ ।”
स्विस सरकारको सहयोग, स्थानीय, प्रदेश र सङ्घीय सरकारको साथै उपभोक्ताको समेत साझेदारीमा गाउँमा पक्की कुलो निर्माण भएपछि गाउँलेहरू मिलेर आआफ्नो खेतीबालीमा सिँचाइ गर्न थालेको फाकफोकथुम–२ का अर्का किसान भक्तिप्रसाद लुुइँटेल बताउनुुहुन्छ । स्थानीय राई कुुलो सिँचाइ उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका लुुइँटेलले सिँचाइका लागि नसोचेको उपलब्धि भएको बताउनुुभयो । ‘सधैँ सुक्खा हुन्थ्यो, खानेपानीको त समस्या हुुन्थ्यो, सिँचाइ गर्न कल्पना पनि थिएन । अहिले त यो कुुलोले करिब एक सय घर किसानले सिँचाइ गर्न थालेका छन् ।’
यो कथा फाकफोकथुम गाउँपालिकाको मात्र होइन सुक्खा क्षेत्रमा बस्ने इलाम र पाँचथरसहित कोशी पहाडका हजारौंँ किसानसँग जोडिएको छ । स्विस सरकार विकास सहयोग परियोजना अन्तर्गत कोशी पहाडमा निर्माण सम्पन्न भएका सिँचाइ योजनाले धेरै किसानलाई राहत मिलेको पाइएको छ । परियोजनाले इलाम, पाँचथर, ओखलढुुङ्गा, उदयपुुर, धनकुटालगायतका कोशीका आठ जिल्लाका ५९ पालिकामा एक हजार चार सय ४० सिँचाइ योजना निर्माण सम्पन्न भएको जनाएको छ । कुल पाँच अर्ब तीन करोड रुपियाँको परियोजनाबाट २५ हजार ९३ हेक्टरमा सिँचाइ सुविधा पुुगेको जनाइएको छ । सिँचाइ योजनाहरू निर्माण भएसँगै पहिलाको भन्दा १३ हजार ४८ हेक्टर बढी जमिनमा खेती हुुन थालेको जनाइएको छ । यसबाट ६१ हजार ४० घरपरिवार लाभान्वित भएका छन् ।
यसैबिच इलाम र पाँचथरमा सञ्चालित परियोजनाको भने समापन गरिएको छ । इलामका नौ पालिका र पाँचथरका छ वटा पालिकामा सिँचाइ योजना निर्माण सम्पन्न भएसँगै दोस्रो चरणको परियोजनाको काम समापन गरिएको इलाम–पाँचथर ‘क्लस्टर’ का केशव लामाले बताउनुुभयो । लामाका अनुुसार इलाम र पाँचथरका १४ पालिकामा मात्र दुुई अर्ब २५ करोड रुपियाँमा योजना निर्माण भएको छ । त्यसबाट दस हजार १७२ हेक्टर जमिनमा सिँचाइ सुुविधा पुुगेको लामाले जानकारी दिनुुभयो ।
कोशी पहाडमा २०२२ मा सक्ने परियोजना भए पनि विभिन्न कारणले ढिलो भएको ‘टिम लिडर’ गुणराज श्रेष्ठले बताउनुुभयो । ‘हामीले २०२२ मा सक्ने परियोजना थियो । सुुरुमा कोभिडले गर्दा काम सक्न २०२४ सम्म धकेलियो, इलाम र पाँचथरमा गएको वर्ष मनसुुनी विपत्ले गर्दा पुनः समय थप भएर २०२६ मा परियोजना सक्ने म्याद थपिएकाले हामीले नयाँ निर्माणको सम्पूर्ण काम सकेका छौँ ।’
स्विस सरकारको ३० प्रतिशत, सङ्घीय सरकारको २० प्रतिशत, प्रदेश सरकारको २० प्रतिशत, पालिकाको २० प्रतिशत तथा उपभोक्ताको १० प्रतिशत साझेदारीमा योजना निर्माण गरिएका हुन् ।











