
नेपालगन्ज, जेठ ६ गते । गत एक सातादेखि अत्यधिक तातो हावा ‘लु’ चलेर एक्कासि बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । नेपालगन्ज र आसपासका क्षेत्रमा केही दिनयता ‘लु’ चल्नुका साथै तापक्रम निरन्तर बढ्दै गएपछि सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।
बिहानैदेखि घाम चर्किएपछि दिनभरि शरीर पोल्ने तातो हावा चल्ने गरेका कारण दिउँसोको समयमा बजार तथा ग्रामीण क्षेत्र सुनसान जस्तै बन्न थालेका छन् भने सर्वसाधारणको हिँड्डुलसमेत घट्दै गएको छ ।
नेपालगन्ज नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले हाल आएर एक्कासि बढेको गर्मी र ‘लु’ ले स्थानीयको जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले अहिले अत्यधिक गर्मीका कारण बिहान र साँझबाहेक बाहिर निस्कनै कठिन भएको जनाउँदै दिनको समयमा घरबाहिर निस्कनै नसक्ने अवस्था रहेको जनाउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका–११ का वडाध्यक्ष नन्दकिशोर कश्यपले गर्मीका कारण दिउँसोको समयमा सेवाग्राही पनि निकै कम आउन थालेको सुनाउनुभयो ।
अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने कामदार र मजदुर बढी प्रभावित बनेका छन् । अटोरिक्सा र ठेलाचालकले गर्मीका कारण काम गर्न असहज भएको बताएका छन् ।
नेपालगन्ज–११ का अटोरिक्साचालक नन्कु शेषले अत्यधिक तापका कारण बिहान र बेलुकाबाहेक घरबाट अटो निकाल्न डर लाग्ने गरेको बताउँदै दिउँसो सडकमा सवारीसमेत नभेटिने गरेको बताउनुभयो ।
उहाँका अनुसार अहिले बजारमा यात्रु निकै कम भेटिने गर्दा अटोरिक्सा चलाउन समस्या भएको छ । अन्य समयमा व्यस्त रहने बजारका सडक र चोकमा अटोरिक्साको उपस्थितिसमेत अहिले निकै पातलो देखिएको छ । यसैबिच मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आगामी केही दिनसम्म तातो लहर चल्ने जनाएको छ ।
लुम्बिनी प्रदेशको बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीलगायतका जिल्ला गर्मीबाट अत्यधिक प्रभावित हुनेमा पर्दछन् ।
तातो हावाका कारण गर्मी बढ्दै जाँदा चिकित्सकले अत्यधिक गर्मीबाट बच्न दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुती कपडा प्रयोग गर्न सुझाव दिएका छन् । भेरी अस्पतालका सूचना अधिकारी वरिष्ठ चिकित्सक डा. सङ्केतकुमार रिसालले शरीरमा पानीको कमी हुन नदिन पटक पटक पानी, जुस वा अन्य झोल पदार्थ सेवन गर्न सुझाव दिनुभएको छ ।










