
दक्षिण एसिया नेटवर्क टेलिभिजन, काठमाडौं, असोज २ गते । ताङ वंशका प्रसिद्ध बौद्ध भिक्षु तथा यात्रु ह्वेनसाङ (Xuan Zang)द्वारा लिखित ऐतिहासिक अभिलेख महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करणको विमोचन शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको हो।
शुक्रबार बिहान काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा नेपालको राष्ट्रिय सभाको अध्यक्ष नारायणप्रसाद दाहाल, नेपालस्थित चिनियाँ संस्कृति केन्द्रका निर्देशक लिउ चाङफिङ, नेपालका पूर्वचिनियाँ राजदूत विष्णुपुकार श्रेष्ठ, पुस्तकका प्रकाशक तथा चिनियाँ अनुवादक फु छ्याङलगायत नेपाल र चीनका राजनीतिक, शैक्षिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा पुस्तक सार्वजनिक, पुस्तक हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
ह्वेनसाङले आजभन्दा करिब १४ सय वर्षअघि दक्षिण एसियाको यात्राका क्रममा देखेका र अनुभव गरेका विभिन्न क्षेत्रको भूगोल, इतिहास, सामाजिक जीवन तथा धार्मिक तथा सांस्कृतिक अवस्थाबारे यस अभिलेखमा विस्तृत रूपमा उल्लेख गरेका छन्। अभिलेखमा तत्कालीन नेपालको भूगोल, जनजीवन तथा बौद्ध संस्कृतिसम्बन्धी महत्वपूर्ण विवरणसमेत समेटिएको छ।
आज प्रकाशित नेपाली संस्करण यस अभिलेखको चिनियाँ अनुवादबाट नेपाली भाषामा गरिएको पहिलो प्रत्यक्ष अनुवाद तथा औपचारिक प्रकाशन भएको बताइएको छ। यससँगै करिब १४ सय वर्ष पुरानो महत्वपूर्ण ऐतिहासिक अभिलेख नेपाली भाषामा नेपाली पाठकमाझ पुगेको छ। यसले नेपाल र चीनबीचको प्राचीन ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध र दक्षिण एसियाको इतिहास बुझ्न नेपाली पाठकलाई थप महत्वपूर्ण स्रोत उपलब्ध गराएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण प्रकाशनले नेपाली जनतालाई चिनियाँ इतिहासलाई विभिन्न कोणबाट बुझ्न सहयोग पुग्नुका साथै नेपाल–चीन जनस्तरको आपसी समझदारीलाई थप गहिरो बनाउन योगदान पुर्याउने बताए। करिब १४ सय वर्षअघि ह्वेनसाङले कठिन र जोखिमपूर्ण यात्रा गर्दै दक्षिण एसिया आएर आफूले देखेका र सिकेका विषयलाई अभिलेखका रूपमा पुस्तकमा समेटेको उनले उल्लेख गरे। ह्वेनसाङले नेपालमा देखेका भूगोल, जनजीवन, बौद्ध विहार तथा सांस्कृतिक अवस्थासम्बन्धी विवरण आज नेपालको मात्र नभई समग्र दक्षिण एसियाको इतिहास अध्ययनका लागि समेत महत्वपूर्ण स्रोत बनेको दाहालले बताए।

पुस्तकका प्रकाशक तथा चिनियाँ अनुवादक फु छ्याङले ह्वेनसाङको हजारौं किलोमिटर लामो यात्राले विभिन्न सभ्यताबीचको ज्ञान, संस्कृति र विचारको आदानप्रदानलाई ऐतिहासिक रूपमा जोडेको बताए। उनका अनुसार यस पुस्तकको नेपाली संस्करण प्रकाशन गर्नुको मुख्य उद्देश्य बढीभन्दा बढी नेपाली नागरिकलाई महान ताङको पश्चिमी क्षेत्रको अभिलेखबारे जानकारी गराउनु, पुस्तक पढ्ने अवसर प्रदान गर्नु र त्यसमा अभिलेखित नेपाल–चीनबीचको प्राचीन ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धबारे बुझाउनु रहेको बताए।

नेपाली अनुवाद दिक्षा दवाडीले दक्षिण एसिया नेटवर्क टेलिभिजनसँगको अन्तर्वार्तमा ह्वेनसाङले लुम्बिनी, कपिलवस्तु र काठमाडौं उपत्यकासहित तत्कालीन नेपालको भूगोल, समाज र बौद्ध संस्कृतिबारे अभिलेख गरेका विवरणहरू नेपालको प्राचीन इतिहास अध्ययनका लागि महत्वपूर्ण स्रोत रहेको बताइन।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करणले नेपाली पाठकलाई प्राचीन दक्षिण एसियाको इतिहास तथा नेपाल–चीनबीचको प्रारम्भिक सम्बन्ध अध्ययन गर्न नयाँ स्रोत उपलब्ध गराएको बताए। उनीहरूले यस प्रकाशनले नेपाल र चीनबीच इतिहास, संस्कृति, शिक्षा तथा शैक्षिक अनुसन्धानका क्षेत्रमा थप सहकार्यका लागि समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे।
पछिल्ला वर्षहरूमा नेपाल र चीनबीच ऐतिहासिक तथा सांस्कृतिक अभिलेखहरूको अनुवाद र प्रकाशनका क्षेत्रमा सहकार्य निरन्तर विस्तार हुँदै आइ रहेको छ। महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करणको प्रकाशनले ऐतिहासिक दस्तावेजको अनुवाद, सांस्कृतिक आदानप्रदान तथा जनस्तरीय सहकार्यलाई थप अघि बढाउने नयाँ आधार तयार गरेको छ।










