
काठमाडौँ, साउन २३ गते । नेपाली मनोरञ्जन क्षेत्रमा चलचित्र र रङ्गमञ्चबिचको सम्बन्ध सधैँ गतिशील र रोचक रहँदै आएको छ । विशेष गरी चलचित्र ‘लुट’ को अभूतपूर्व सफलतापछि नेपाली चलचित्रमा एक किसिमको नयाँ युगको सुरुवात भयो । ‘लुट’ को व्यावसायिक र समीक्षात्मक सफलतासँगै थिएटरका कलाकार एकाएक चलचित्र उद्योगको रोजाइमा परे । रङ्गमञ्चबाट चलचित्रमा प्रवेश गर्नेको ठुलो लहर नै चल्यो तर एक दशकको अन्तरमा यो प्रवृत्तिमा ठुलो बदलाव आएको छ । हिजो रङ्गमञ्चलाई चलचित्रसम्म पुग्ने भ¥याङ मात्र ठान्ने सोच परिमार्जित हुँदै आज चलचित्रमा नाम, दाम र अभूतपूर्व लोकप्रियता कमाएका स्टार कलाकार पुनः थिएटरको मञ्चतर्फ फर्किरहेका छन् । विगतमा रङ्गमञ्चमा काम गर्नुको प्राथमिक उद्देश्य चलचित्रमा छिर्ने ढोका खोल्नु मात्र हुन्थ्यो । समाजमा मात्र नभई स्वयम् कला क्षेत्रभित्र पनि नाटकलाई चलचित्रको तुलनामा आर्थिक रूपमा कमजोर वा केवल अभ्यास गर्ने थलोका रूपमा हेर्ने सङ्कुचित दृष्टिकोण व्याप्त थियो । धेरैका लागि रङ्गमञ्च एउटा गन्तव्य नभएर यात्राको एउटा माध्यम मात्र थियो तर आजको स्थिति गुणात्मक रूपमा फरक भइसकेको छ ।
रङ्गमञ्चमा लामो समय साधनारत रहेर खारिएका कलाकारले जब पर्दामा प्रवेश गरे, उनीहरूले पस्किएको अभिनयमा एक किसिमको यथार्थपरक, गहिराइ र जीवन्तता देखियो । यसले चलचित्र उद्योग स्वयम्लाई आफ्नो अभिनयको परम्परागत ढाँचा परिमार्जन गर्न बाध्य बनायो । आज पर्दामै जन्मेर स्थापित भएका कलाकार आफ्नो अभिनय यात्रालाई पुनः तिखार्न र आत्मसन्तोषका लागि मञ्चतर्फ मोडिएका छन् ।
अभिनयको व्याकरण र सौन्दर्यशास्त्रलाई बुझ्न विश्वविख्यात नाट्यसिद्धान्तकार र निर्देशक स्तानिसलाभ्स्कीको भनाइलाई बिर्सन सकिँदैन । अभिनयको गहिराइलाई विश्लेषण गर्दै स्तानिसलाभ्स्कीले भन्नुभएको छ, “रङ्गमञ्चमा कलाकारले पात्रको जीवनको एउटा सिङ्गो नदी जस्तै लगातार बग्नु पर्छ तर चलचित्रमा त्यो नदीलाई साना साना थोपामा टुक्य्राइन्छ । चलचित्रका लागि कलाकारले ती टुक्रामा पनि उही आन्तरिक सत्य कायम राख्न सिक्नु पर्छ ।” स्तानिसलाभ्स्कीको यो भनाइले रङ्गमञ्च र चलचित्रबिचको सूक्ष्म तर मौलिक भिन्नतालाई छर्लङ्ङ पार्छ । धेरै समय चलचित्रको प्रविधि, क्यामरा र ‘कट’ को वातावरणमा काम गर्दा कलाकारभित्र चरित्रको त्यो निरन्तर नदीमा बग्ने तिर्खा जाग्छ । यही ‘सिङ्गो नदी जस्तै बग्ने’ अनुभूति र आन्तरिक सत्यको खोजी नै स्थापित ‘स्टार’ हरूलाई रङ्गमञ्चतिर आकर्षित गर्ने मुख्य मनोवैज्ञानिक कारण हो ।
नेपाली चलचित्रका महानायक राजेश हमालदेखि जीवन लुइटेल, रेखा थापा, बेनिशा हमाल, सुरक्षा पन्त, सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ जस्ता स्थापित र लोकप्रिय नामले रङ्गमञ्चमा पाइला टेकिसकेका छन् । वरिष्ठ रङ्गकर्मी अशेष मल्लका अनुसार मञ्चमा उत्रिएपछि चलचित्रका स्थापित स्टार भए पनि रङ्गमञ्चमा उत्तिकै मेहनत, कडा रिहर्सल र अनुशासनको पालना गर्नु पर्छ । यसले गर्दा चलचित्रका कलाकारको आगमनले नाटकको मौलिकता गुम्दैन । बरु यसले रङ्गमञ्चलाई थप गतिशील, ऊर्जावान् र समावेशी बनाउँछ । चलचित्र, रङ्गमञ्च र साहित्य बेग्लै विधा होइनन् । यी सबै कलाका विभिन्न माध्यम हुन् । चलचित्रमा काम गर्ने कलाकार रङ्गमञ्चमा आउन हुँदैन र रङ्गमञ्चका कलाकार जानु हुँदैन भन्ने प्रश्नै छैन । सबै कलाकै विधा हुन् ।
कान्तिपुर फिल्म एकेडेमीका संस्थापक प्रकाश पुरी चलचित्रका कलाकारलाई नाटकमा अभिनय गराउनु खासै नौलो कुरा नभएको धारणा व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार चलचित्रका कलाकारलाई नाटकमा अभिनय गर्न तीन/चार महिनाअघिदेखि नै खबर गर्ने गरिन्छ । चलचित्रका कलाकारलाई अभिनय गराउन खासै असजिलो छैन । थिएटरको ढोकाभित्र छिरेपछि उहाँहरू आफू स्टार हो भनेर बिर्सनुहुन्छ । रङ्गमञ्चको आफ्नै कठोर अनुशासन, नियम र जीवित प्रस्तुतिको पद्धति हुन्छ । यहाँ स्टारडमको घमण्डले काम गर्दैन । चलचित्र र रङ्गमञ्चबिचको यो आउजाउ र दोहोरो सम्बन्धले नेपाली कलाक्षेत्रलाई थप परिपक्व र बहुआयामिक बनाएको पनि उहाँले बताउनुभयो । रङ्गमञ्चबाट चलचित्रमा जाने र चलचित्रका स्थापित अनुहार पुनः रङ्गमञ्चमा फर्कने यो यात्रा कुनै क्षणिक लहर मात्र नभई नेपाली अभिनय क्षेत्रको सौन्दर्यशास्त्रीय विकासको प्रमाण हो ।
चलचित्रमा टेक र कटको सहजतामा अभ्यस्त भइसकेका कलाकारका लागि रङ्गमञ्च एक कडा तालिमकेन्द्र हो, जहाँ उनीहरूले आफ्ना शारीरिक हाउभाउ र भावनात्मक अभिव्यक्तिलाई पुनः मञ्चीय जीवन्तता दिने नायिका बेनिशा हमालले बताउनुभयो । नयाँ र उदीयमान नाट्यकर्मीले स्थापित स्टारसँग काम गर्दा उनीहरूको व्यावसायिकता, कार्यशैली र क्यामरा/मञ्चको अनुभव प्रत्यक्ष सिक्न पाइने उहाँको तर्क छ । साथै आफ्नै प्रतिभालाई धेरै दर्शकसम्म पु¥याउने अवसर प्राप्त हुन्छ । उहाँका अनुसार स्टार कलाकारलाई हेर्न नाटकघरसम्म आउने नयाँ दर्शक कालान्तरमा नाटकका स्थायी अनुरागी बन्न पुग्छन् । यसले नाट्य समूहको आर्थिक आत्मनिर्भरता र नाटकघरको दिगोपनमा प्रत्यक्ष योगदान पु¥याउँछ । स्तानिसलाभ्स्कीले भने झैँ चलचित्रका साना साना थोपामा काम गरिसकेका कलाकार जब रङ्गमञ्चको सिङ्गो नदीमा पौडिन आउँछन्, त्यसले उनीहरूको व्यक्तिगत अभिनय क्षमतालाई मात्र तिखार्दैन, समग्र नाट्य र चलचित्र उद्योगलाई नै समृद्ध बनाउँछ । यो आगमनलाई सस्तो प्रचारका रूपमा सीमित नमानी रङ्गमञ्चको मर्यादा र अनुशासनभित्र अँगाल्न सकियो भने यसले नेपाली कलाक्षेत्रको दीर्घकालीन उचाइ प्रदान गर्ने छ ।













