
काठमाडौँ, भदौ २५ गते । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको विपदबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि ‘नेपालिज सोसाइटी सिंगापुर’ले सहयोग अभियान सञ्चालन गरेको छ ।
नेपालिज सोसाइटी सिंगापुरले आफ्ना सदस्य, तथा शुभेच्छुकबिच सञ्चालन गरेको निजी सहयोग संकलन अभियानबाट संकलन गरी नबिल बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पहिलो चरणको १७ लाख ११ हजार पाँच सय ८५ रुपिया ५७ पैसा रकम हस्तान्तरण गरेको छ । उक्त पहिलो चरणको रकम भदौ १८ गते नै जम्मा गरिएको हो ।
भदौ १७ गतेपछि प्राप्त भएका सहयोग रकम हाल संकलन तथा समायोजन भइरहेको छ । आगामी चरणमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिने छ । समुदायबाट प्राप्त हुने सहयोगलाई निरन्तररूपमा संकलन गरी सम्बन्धित राहत कोषमा हस्तान्तरण गर्ने कार्यलाई सहजीकरण गर्नेछ । यस सहयोग अभियानमा बर्मिज गोर्खा सोसाइटी सिंगापुरले महत्वपूर्ण भूमिका छ ।
नेपालिज सोसाइटी सिंगापुरले आफ्ना सदस्य तथा शुभेच्छुकलाई नेपालमा जारी राहत प्रयासमा सहयोग गर्न प्रोत्साहित गर्दै सहयोग रकम जुटाउन महत्वपूर्ण योगदान दिएको छ । विपदमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, ऐक्यबद्धता र सहानुभूति व्यक्त गर्न नेपालिज सोसाइटी सिंगापुरले भदौ २२ गते श्रद्धाञ्जली सभा र दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रम विपदको १३ औँ दिनमा आयोजना गरिएको हो । कार्यक्रममा ५० भन्दा बढी सदस्य, मित्र तथा शुभेच्छुक सहभागी भई विपदमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । हभागीले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै आगामी दिनमा गर्नुपर्ने राहत, पुनः स्थापना र पुनर्निर्माणका प्रयासबारे पनि मनन गरेका छन् । यस भेलाले सिंगापुरमा रहेका नेपाली समुदायलाई दुः ख र पीडाको यस घडीमा एकजुट हुने तथा नेपालप्रतिको आफ्नो सामूहिक प्रतिबद्धता पुनः व्यक्त गर्ने अवसर प्रदान गरेको थियो ।
“नेपाल यति कठिन परिस्थितिबाट गुज्रिरहेको बेला सबै एकजुट भएर आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामीले जिम्मेवारी ठानेका छौँ, यस अभियानमा नेपालिज सोसाइटीलाई सहयोग गर्दै हाम्रो समुदायलाई एक ठाउँमा ल्याउन योगदान गर्न पाएकोमा हामी आभारी छौँ,” बर्मिज गोर्खा सोसाइटी सिंगापुरकी अध्यक्ष हेमा पौडेलले भन्नुभयो,“विपदमा आफ्ना प्रियजन गुमाउनुभएका परिवार तथा प्रभावित सबैप्रति हाम्रो गहिरो सहानुभूति छ । धेरैको सहयोग सँगै हाम्रो यो सानो योगदानले अहिले केही राहत र सान्त्वना दिन सकोस् र भोलिको पुनःस्थापना तथा पुनर्निर्माणमा पनि सहयोग पुगोस् भन्ने हाम्रो आशा छ ।”


















