
काठमाडौँ, असोज ७ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रमा विशेष सम्बोधन गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकास, विश्वव्यापी द्वन्द्व र अमेरिकी राष्ट्रिय सुरक्षा तथा अर्थतन्त्रका विषयमा कडा अभिव्यक्ति दिनुभएको छ ।
विश्वभरका नेताहरू सहभागी महासभामा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिका प्रविधि र विश्वशान्ति दुवै क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहने दाबी गर्नुभयो । उहाँले ‘एआई फोर्स’ र यसको नेतृत्वका लागि ‘एआई जार’ नियुक्त गर्ने योजनाबारे चर्चा गर्र्दै अमेरिकाले एआई उद्योगको विकासलाई कुनै पनि हालतमा कुण्ठित वा सुस्त नबनाउने स्पष्ट पार्नुभयो । एआईको सुरक्षासम्बन्धी डर र अति नियमनका मागलाई अस्वीकार गर्दै उहाँले अमेरिकालाई चीनभन्दा अगाडि राख्न र अमेरिकी अर्थतन्त्रमा यसको हिस्सा उल्लेख्य रूपमा वृद्धि गर्न सरकारले उद्योगलाई संरक्षण र प्रोत्साहन दिने स्पष्ट गर्नुभयो ।
राष्ट्रपति ट्रम्पले रुस–युक्रेन युद्ध तथा विशेष गरी इरानसँग जारी अमेरिकी युद्धबारे चर्चा गर्दै आफूले विश्वभर जटिल समस्या समाधान गर्न र स्थायी शान्ति सम्झौता कायम गर्न अग्रसरता लिइरहेको दाबी गर्नुभयो । उहाँले विभिन्न द्वन्द्वलाई वार्ता र कूटनीतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय संस्थाले अमेरिकी हित र लगानीको उचित सम्मान गर्नुपर्ने दोहोर्याउनुभयो । अमेरिकाले विश्व साझेदारीलाई महत्व दिने तर आफ्ना नागरिक र सीमाको सुरक्षामा कहिल्यै सम्झौता नगर्ने उहाँको भनाइ थियो । राष्ट्रपति ट्रम्पको यस सम्बोधनले विशेष गरी प्रविधि जगत् र अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ तरङ्ग ल्याएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले घोषणा गर्नुभएको ‘एआई फोर्स’ जलसेना, स्थलसेना वा वायुसेना जस्तो परम्परागत सैन्य फौज होइन । यो वास्तवमा अमेरिकामा एआई उद्योगको तीव्र विकास, प्रवर्धन र राष्ट्रिय सुरक्षाका दृष्टिले त्यसको निगरानी गर्न गठन गर्न लागिएको एक विशेष सरकारी संयन्त्र वा कार्यदल हो । यो लडाकु सेना होइन । यो हातहतियार लिएर युद्ध मैदानमा लड्ने सेना पनि होइन । यो एआई प्रविधिको विकासमा अमेरिकालाई विश्वमै अगाडि राखिराख्न र यस क्षेत्रलाई कानुनी संरक्षण दिन बनाइएको एउटा विशेष निकाय हो ।
राष्ट्रपति ट्रम्पले यसलाई आफ्नो पहिलो कार्यकालमा गठन गरिएको अमेरिकी सैन्य शाखा ‘स्पेस फोर्स’ सँग तुलना गर्नुभएको छ । ‘स्पेस फोर्स’ जसरी बाह्य अन्तरिक्षमा अमेरिकी हितको रक्षाका लागि केन्द्रित छ, त्यसरी नै एआई फोर्स डिजिटल र प्रविधिको दुनियाँमा अमेरिकी प्रभुत्व र सुरक्षाका लागि केन्द्रित रहने बताइएको छ । ट्रम्पका अनुसार एआई फोर्सले एआईको विकासलाई नियमन गरेर रोक्ने वा सुस्त बनाउने नभई यसलाई अझ बढावा दिने र अमेरिकी अर्थतन्त्रमा यसको योगदान २५ प्रतिशतसम्म पुर्याउने उद्देश्य राखेको छ ।


















