
म्याग्दी, भदौ २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरलेकमा रहेको प्रसिद्ध धार्मिकस्थल खयरभारानीमा यही भदौ १२ गते लाग्ने जनैपूर्णिमा मेलाको तयारी सुरु गरिएको छ।
अन्नपूर्ण हिमालको फेदीमा समुद्री सतहबाट चार हजार ६३० मिटर उचाइमा अवस्थित खयरभारानी देवीको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ। यसै विश्वासका कारण जनैपूर्णिमाका दिन यहाँ ठुलो सङ्ख्यामा भक्तजन पुग्ने गर्दछन्। खयरभारानी यस क्षेत्रकै प्रमुख धार्मिक शक्तिपीठका रूपमा परिचित छ।
भक्तजनका लागि आवतजावत, बसोबास, खानपान तथा पूजा–दर्शनको सहज व्यवस्था मिलाउन स्थानीयवासी अहिलेबाटै तयारीमा जुटेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “जनैपूर्णिमाका दिन खयरक्षेत्रमा धार्मिक पर्यटकको उल्लेख्य आगमन हुने भएकाले पूजा–आराधनालाई व्यवस्थित बनाउन र भक्तजनको बसाइ व्यवस्थापन सहज बनाउन तयारी गरिरहेका छौँ।”
वर्षातका कारण क्षति पुगेका पदमार्गको मर्मत, ठाउँ–ठाउँमा पानीका धारा व्यवस्थापन, विश्रामस्थल निर्माण तथा अन्य पूर्वाधार तयारीका काम थालिएको उहाँले बताउनुभयो।
जनैपूर्णिमाका दिन खयरभारानीको दर्शन गरे मनोकामना पूरा हुने विश्वासका कारण म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत विभिन्न जिल्लाबाट सयौँ भक्तजन यहाँ पुग्ने गर्दछन्।
खयरभारानीको दर्शनका लागि भक्तजन अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार हुँदै पर्यटकीय गन्तव्य खोप्रालेक पुग्छन्। त्यहाँबाट जनैपूर्णिमाको अघिल्लो दिन खयरखोलामा बास बसेपछि भोलिपल्ट बिहानै खयरभारानी दर्शनका लागि प्रस्थान गर्ने चलन छ।
कोषका संरक्षक पुनका अनुसार खोप्रा र खयरखोलामा भक्तजनका लागि बसोबासको व्यवस्था मिलाइएको छ। खयरभारानीमा दर्शन गरी वर मागेपछि पूरा भएमा पुनः ‘वर फिर्ता’ गर्न आउने परम्परा रहेको छ। एकपटकको यात्रामा एउटा मात्र वर माग्नुपर्ने र धेरै वर माग्दा फल प्राप्त नहुने जनविश्वास छ।
भक्तजनले सन्तान, धनसम्पत्ति, सुख–शान्ति, सुस्वास्थ्य, वैदेशिक रोजगारी तथा सेनामा भर्ती हुन सफल हुने कामनासहित वर माग्ने गर्दछन्। आफूले चाहेको वर पुजारीलाई सुनाएपछि पुजारीले उच्च स्वरमा देवीसमक्ष कामना व्यक्त गर्ने प्रचलन रहेको छ। जनैपूर्णिमाका दिन ध्वजा, अक्षता, फूल, गहना, सुन–चाँदी, नरिवल तथा पाठा चढाउने चलन रहेको छ।
भक्तजनलाई सहज बनाउन पाउद्वारवासीले चन्दा सङ्कलन गरी पाउद्वारदेखि खयरलेकसम्म धार्मिक पदमार्ग र चौतारा निर्माण गरेका छन्। करिब १० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको खयरताल कहिल्यै नसुक्ने तालका रूपमा परिचित छ। तालको मुहान पनि देखिँदैन। तालको छेउमै खयरभारानीको थान रहेको छ।
२०६९ सालमा थानको पुनर्निर्माण गरिएको थियो। तालमा भेटिएको अनौठो शिलालाई खयरभारानीको प्रतीक मानी थानभित्र प्रतिस्थापन गरिएको छ।













