
सिन्धुलीमाढी, साउन १३ गते । सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को पहुँच विस्तार भएसँगै सिन्धुलीका विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । जिल्लाका सामुदायिक विद्यालयमा कम्प्युटर प्रयोगशाला सञ्चालन, स्मार्ट बोर्ड, प्रोजेक्टर, स्मार्ट टेलिभिजन तथा अन्य डिजिटल सामग्रीको प्रयोग बढेसँगै विद्यार्थीले आधारभूत कम्प्युटर ज्ञानसँगै डिजिटल सिप सिक्ने अवसर पाउन थालेका छन् ।
स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार तथा विकास साझेदार संस्थाको सहयोगमा विद्यालयमा आइसिटी सामग्री उपलब्ध भएपछि परम्परागत कालोपाटी र सेतो चकमा आधारित शिक्षण पद्धति बिस्तारै डिजिटल प्रणालीतर्फ रूपान्तरण हुन थालेको विद्यालयले जनाएका छन् ।
कमलामाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका प्रधानाध्यापक अरुणकुमार थिङ कक्षाकोठामा स्मार्ट बोर्ड, कम्प्युटर, प्रोजेक्टर र डिजिटल सामग्रीको प्रयोगले पठनपाठनलाई थप प्रभावकारी, आकर्षक र विद्यार्थीमैत्री बनाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले कक्षा ४ बाटै कम्प्युटर कक्षा सुरु गरेका छौँ । कक्षा ९, १०, ११, १२ मा स्मार्ट बोर्ड र प्रोजेक्टर प्रयोग गरी पढाउने
गरेका छौँ ।”
डिजिटल सामग्रीमार्फत चित्र, भिडियो र प्रस्तुतीकरण प्रयोग गरेर कठिन विषयवस्तुसमेत सहज रूपमा बुझाउन सकिने भएकाले विद्यार्थीको सहभागिता र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव परेको छ ।
गोलन्जोर गाउँपालिका–५ स्थित मावि नयाँखर्कका प्रधानाध्यापक लेखबहादुर बस्नेत दुई वर्षअघि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आइसिटी सामग्री खरिद गरी पठनपाठन सुरु गरेको जानकारी दिनुहुन्छ । उहाँका अनुसार विद्यालयमा कक्षा ६, ७ र ८ मा कम्प्युटर कक्षा सञ्चालन भइरहेको छ । कम्प्युटर विद्यालयले आफ्नै स्रोतबाट किनेको हो ।
विद्यालयका अनुसार शिक्षकलाई प्रविधिमैत्री शिक्षणसम्बन्धी तालिम पनि नियमित रूपमा सञ्चालन हुँदै आएको छ । केही विद्यालयले ‘वन टिचर, वन ल्यापटप’ कार्यव्रmमसमेत लागु गरी प्रत्येक शिक्षकलाई ल्यापटप उपलब्ध गराएका छन् ।
जिल्लाका केही विद्यालयमा प्रविधिको प्रभावकारी उपयोग हुन भने सकेको छैन । विद्यालयमा इन्टरनेट सेवा, नियमित विद्युत् आपूर्ति, उपकरण मर्मतसम्भार तथा प्राविधिक जनशक्तिको अभावका कारण उपलब्ध सामग्री पूर्ण रूपमा प्रयोगमा आउन नसकेको शिक्षकको गुनासो छ ।
हरिहरपुरगढी गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानलाई तीव्रता दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार सङ्घीय सरकारको विशेष अनुदान अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा एक करोड २३ लाख रुपियाँ लागतमा गाउँपालिकाभित्रका ५२ वटा सामुदायिक विद्यालयमा आइसिटी ल्याब स्थापना गरिएको छ ।
उहाँका अनुसार प्रत्येक माध्यमिक विद्यालयलाई एक/एक थान ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर, एलइडी बोर्ड, स्मार्ट टेलिभिजन, बुक कर्नर र आवश्यक फर्निचर उपलब्ध गराइएको छ । सबै विद्यालयमा इन्टरनेटसेवा विस्तार गरिएको छ भने विद्यालय प्रशासनलाई व्रmमशः पेपरलेस प्रणालीमा रूपान्तरण गर्ने कामसमेत अघि बढाइएको छ ।












