
काठमाडौं, असोज ४ गते। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित असोज १ गतेदेखि सुरु भएको चारदिने एक्स्पो आज असोज ४ गते समापन हुँदैछ। एक्स्पोमा घर तथा जग्गा, हाउजिङ तथा अपार्टमेन्ट, निर्माण सामग्री, इन्टेरियर, प्रिफ्याब घर, सौर्य ऊर्जा तथा बैंकिङ र वित्तीय सेवासम्बन्धी एक सयभन्दा बढी स्टल राखिएका छन्।
एक्स्पोमा घर तथा जग्गा खरिदकर्तालाई विभिन्न छुट तथा वित्तीय सुविधाका योजना समेत सार्वजनिक गरिएका छन्। केही परियोजनाले १० देखि २५ प्रतिशतसम्म छुट घोषणा गरेका छन् भने बैंक तथा वित्तीय संस्थामार्फत आवास कर्जा र लगानीसम्बन्धी जानकारी तथा परामर्श उपलब्ध गराइएको छ।
त्यस्तै, घर निर्माणमा प्रयोग हुने नयाँ प्रविधि र सामग्रीप्रति पनि अवलोकनकर्ताको चासो देखिएको छ। प्रिफ्याब घर, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा विपद् उत्थानशील निर्माण प्रविधिलाई समेत एक्स्पोमा प्राथमिकता दिइएको छ।
आयोजकका अनुसार एक्स्पोले घरजग्गा खरिद–बिक्रीसँगै सुरक्षित र व्यवस्थित आवास विकासबारे जानकारी तथा परामर्श लिने अवसर प्रदान गरेको छ। आज अन्तिम दिन पनि सर्वसाधारणले विभिन्न आवास परियोजना, जग्गा, निर्माण सामग्री र उपलब्ध छुट तथा वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।


















