
कास्की, साउन १३ गते । नेपाली चलचित्रको घरेलु बजार वर्षको सुरुवातसँगै सुखद बनेको थियो । गत वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापार गरेसँगै नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको पाइन्छ । केही चलचित्रको व्यापारिक आँकडा कमजोर देखिए पनि ठुलो ब्यानरमा निर्माण भएका चलचित्रले सुखद व्यापार गरेका छन् ।
वर्षको सुरुवातमै प्रदर्शनमा आएको गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्र्रहमा सङ्गृहीत कथा ‘परालको आगो’ ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरेको थियो । चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार चार करोड २८ लाखमाथिको व्यापार गरेको छ । लक्ष्मण सुनारको निर्देशनमा बनेको यस चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शङ्कर आचार्य, ज्याक श्रेष्ठ, किशोर भण्डारी, सरिता भण्डारी, मन्जिला बानियाँलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा श्रीमान्श्रीमतीको झगडालाई मुख्य विषयवस्तु बनाइएको छ ।
वैशाखदेखि असारसम्मको तीन महिनामा १४ नेपाली चलचित्र प्रदर्शनमा आए । यीमध्ये कमै चलचित्रले करोडको व्यापार गरेका छन् । कतिपय राम्रा भनिएका चलचित्रले प्रदर्शनको समय अनुकूल नमिल्दा पनि व्यापारमा घाटा सहनु प¥यो । यसै गरी विश्वकप फुटबल र बर्खायामले पनि नेपाली चलचित्रको व्यापार सोचे जस्तो हुन नसकेको फिल्मकर्मी बताउँछन् ।
वैशाख २५ बाट प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ तीन महिनाको अवधिमा सबैभन्दा बढी कमाउने चलचित्र बनेको छ । यस चलचित्रले नौ करोड ३२ लाख नौ हजार ९२५ रुपियाँ ग्रस कलेक्सन गर्दै अहिलेसम्म वर्षकै सर्वाधिक सफल चलचित्र बनेको छ । यो चलचित्रले प्रदर्शनको ५१ दिन पूरा गरिसकेको छ । यसले आफ्नो लगानी सुरक्षित मात्र नभई, निर्मातालाई नाफासमेत दिलाएको छ । त्यस्तै करोड पार गर्ने जेठ १५ देखि प्रदर्शनमा आएको ‘रोल नं. १’ पनि बनेको छ । चलचित्रले गत आइतबारसम्म एक करोड ७८ लाख २३ हजार ९०८ रुपियाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रले पनि सफलतापूर्वक ५१ औँ दिन पनि पूरा गरेको छ । जेठ ८ बाट प्रदर्शनमा आएको स्टारकास्ट चलचित्र ‘मितज्यू’ पनि करोडको सूचीमा प्रवेश गरेको छ । चलचित्रले एक करोड ३२ लाख जम्मा गरेको छ । तीन महिनाको अवधिमा १४ वटा चलचित्रमध्ये चार वटाले मात्र करोडभन्दा बढीको व्यापार गरेका छन् ।
वैशाख १ मा प्रदर्शन भएको तुलसी घिमिरे निर्देशित ‘पहाड’ ६३ लाख ९३ हजार १६२ रुपियाँमा खुम्चियो । ‘मालती मङ्गले’ ५१ लाख ६३ हजार ६९३ र ‘गुरुआमा’ ले २९ लाख ४२ हजार रुपियाँ ग्रस कलेक्सन गरेका छन् । जेठ १ गते प्रदर्शनमा आएका ‘लाइफ ड्यामेज’ ले ३४ लाख ६६ हजार २९० र ‘एक मुठी बादल’ ले पाँच लाख २१ हजार रुपियाँ ग्रस कलेक्सन गरेका छन् । चलचित्र ‘काजी’ ४४ लाख ४६ हजार ६० रुपियाँ मात्रै कमाउन सफल भयो । यसै गरी जेठ १५ मै रिलिज भएको अर्को चलचित्र ‘कुम्भ’ ले चार लाख २५ हजार ८८५ रुपियाँ मात्र ग्रस कमाएको छ ।
जितु नेपालको निर्माण तथा अभिनय रहेको चलचित्र ‘आई एम जितबहादुर’ को बक्स अफिस कलेक्सन निकै निराशाजनक बन्न पुग्यो । असार ५ बाट प्रदर्शनमा आएको यस चलचित्रले जम्मा ३१ लाख सात हजार ६९२ रुपियाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रकर्मी र समीक्षकको राम्रै प्रतिक्रिया पाउँदा पनि प्रदर्शन समय अनुकूल नमिल्दा व्यापारमा निराशा खेप्नु प¥यो । चलचित्रले गाउँबाट सपना बोकेर सहर आएको एक युवाले कलाकार बन्नका लागि गर्ने सङ्घर्ष, चुनौती र उसको भावनात्मक यात्रालाई पर्दामा देखाएको छ । भारतीय बङ्गाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियङ्का कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाललगायतका कलाकारको अभिनय छ ।
असार १२ बाट प्रदर्शनमा आएको ‘जाँड’ ले एक लाख २६ हजार कलेक्सन गरेको छ । असार २६ गते प्रदर्शनमा आएको ‘भागदौड’ यो वर्षकै हालसम्मको सबैभन्दा कम बक्स अफिस कलेक्सन गर्ने चलचित्र बनेको छ । ‘भागदौड’ ले एक लाख १९५ रुपियाँ आम्दानी गरेको छ । वैशाख, जेठ र असार गरेर यस अवधिमा नेपाली बक्स अफिसमा साताकै दुई वटासम्म चलचित्र रिलिज हुने होडबाजी पनि चल्यो तर व्यापारिक नतिजा भने उत्साहजनक देखिएन । करोडौँमा बनेका चलचित्रको व्यापार निराशजनक हुन पुग्यो ।












