नेभिगेसन मेनु

पर्यटकको आकर्षण बन्दै टाकुरा
सम्पादक:南亚网络电视
समय:2026-08-24 13:37

 

 1000081525

काठमाडौं, भदौ ८ गते । निसीखोला गाउँपालिका–७ राजकुटमा पर्ने टाकुरामा चैतदेखि नै आन्तरिक पर्यटकको आगमन हुने गर्छ। पहिले पशुचौपाया चरन क्षेत्रका रूपमा रहेको टाकुरा अहिले घुमफिरका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

समथर मैदानलाई चारैतिरबाट सल्लाका रूखले घेरेका छन्। हरियाली घाँस र बुट्यानले टाकुराको सुन्दरतामा थप आकर्षण थपेको छ। हिउँद र वर्षायाममा निकै आकर्षक देखिने टाकुरा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।

खासगरी गर्मी याममा टाकुरा धेरैका लागि शीतलता प्रदान गर्ने छहारी बनेको छ। बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारभन्दा केही माथि रहेको टाकुरा उच्च पहाडको शिरमा फैलिएको समथर भू–भाग हो। टाकुराको तल गाउँबस्ती छन् भने त्यसभन्दा माथि बस्ती छैन। पर्यटकीयस्थल नरसिंहकोटको सामीप्यमा रहेको टाकुरा पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको छ।

वरपर रूख र बिचमा खाली समथर मैदान रहेको टाकुराले धेरैलाई आकर्षित गर्ने गरेको छ। वर्षायाममा वरपरको हरियाली वातावरणले झनै मन लोभ्याउने गरेको छ।

ऐतिहासिक क्षेत्र नरसिंहकोटसँग जोडिएको टाकुरा पिकनिकका लागि समेत उपयुक्त स्थान मानिन्छ। आन्तरिक पर्यटक यहाँ हरेक मौसममा पुग्ने गरेका छन्। शनिबार तथा आइतबारको बिदामा व्यापारी तथा अन्य नागरिक घुमफिरका लागि यहाँ पुग्ने गरेका छन्।

नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भीमगिठे बजारदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको टाकुरामा बागलुङसँगै गुल्मीबाट समेत आन्तरिक पर्यटक आउने गरेका छन्। तराई–पहाड जोड्ने राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको नजिकै पर्ने टाकुरा पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेपछि स्थानीयसमेत उत्साहित छन्।

भीमगिठे, राजकुट र बुर्तिबाङबाट टाकुरा पुग्न सकिन्छ। यहाँसम्म पुग्ने मोटरबाटो निर्माण नभए पनि गोरेटो बाटो हुँदै पैदलयात्रा गरेर पर्यटक पुग्ने गरेका छन्। ट्रेकिङका लागि पनि यो स्थान उपयुक्त मानिन्छ।

विगतका वर्षको तुलनामा पछिल्ला दुई वर्षयता टाकुरा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको स्थानीय तिलबहादुर विकले जानकारी दिनुभयो। अहिले नरसिंहकोटसम्म पुग्ने सडक सहज भएकाले त्यहाँ आउने अधिकांश आगन्तुक टाकुरासम्म पुग्ने गरेको उहाँले बताउनुभयो। वर्षायाममा पनि हरियाली घाँसे मैदानमा फोटो तथा भिडियो खिच्न र रमाइलो गर्न पर्यटक आउने गरेको विकको भनाइ छ।

नरसिंहकोटदेखि टाकुरालाई सडक सञ्जालले जोड्न सके अझ बढी पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो। “पहिले–पहिले यो ठाउँमा गाईभैँसी चराउने गरिन्थ्यो, अहिले त मान्छेको भीड लाग्छ। चाडपर्व र बिदाका दिन धेरै मान्छे आउने, गीत बजाउने र नाच्ने गर्छन्। अहिलेसम्म मोटरबाटो पुगेको छैन, तर मानिसहरू हिँडेरै जाने गरेका छन्,” विकले भन्नुभयो।

उहाँका अनुसार पहिले नरसिंहकोट आउने पर्यटक त्यहीँबाट फर्किने गरे पनि अहिले टाकुरा चर्चित बन्दै गएको छ। चाडपर्वका बेला तीन–चार सयसम्म मानिस टाकुरा पुग्ने गरेको उहाँले बताउनुभयो।

निसीखोला गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटसँग टाकुरालाई जोड्न सके पर्यटन विकासमा थप टेवा पुग्ने स्थानीयको भनाइ छ। टाकुराबाट देखिने मनमोहक दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ।

टाकुराको विकासका लागि सडकसँगै पर्यटन पूर्वाधार निर्माण गरिने निसीखोला–७ का वडाध्यक्ष दीपक कुँवरले बताउनुभयो। उहाँका अनुसार ऐतिहासिक नरसिंहकोटमा धेरै भौतिक संरचना निर्माण भइसकेका छन्। अब नरसिंहकोट र टाकुरालाई जोडेर पर्यटकीय हबका रूपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो।

“पछिल्लो समय नरसिंहकोट र टाकुरामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ। नरसिंहकोटमा विगतदेखि नै धेरै संरचना निर्माण हुँदै आएका छन् र अब करिब–करिब पूरा हुने चरणमा छन्। टाकुरामा भने अहिलेसम्म कुनै पूर्वाधार निर्माण भएको छैन,” अध्यक्ष कुँवरले भन्नुभयो।

उहाँले थप्नुभयो, “पूर्वाधार नबन्दा पनि नरसिंहकोट आउने पर्यटक टाकुरासम्म पुग्ने गरेका छन्। त्यहाँ जाने मोटरबाटो निर्माण भएको छैन। सडक सहज भयो भने अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ। प्रदेश सरकारसँग बजेट माग गरेका छौँ। प्रदेश सरकार र गाउँपालिकाको बजेट मिलाएर सडक निर्माण गर्ने योजना बनाइरहेका छौँ।”

सडक निर्माण गर्दा टाकुराको प्राकृतिक सौन्दर्यमा असर नपर्ने गरी व्यवस्थित रूपमा काम गर्ने अध्यक्ष कुँवरले बताउनुभयो। आवश्यक स्थानमा पदमार्ग, शौचालय र खानेपानीको व्यवस्था गर्न बाँकी रहेकाले विभिन्न निकायसँग सहकार्य गरेर काम अघि बढाइने उहाँले जानकारी दिनुभयो।

पर्यटकको आकर्षण बन्दै टाकुरा

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर