
काठमाडौँ, भदौ ३१ गते । हरेक वर्ष हुँदै आएको क्यासिनो नवीकरण अवधि बढाएर पाँचमा वर्ष बनाउन क्यासिनो व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मङ्गलबारको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा व्यवसायीले त्यस्तो सुझाव दिएका हुन् । क्यासिनोको नवीकरण हरेक वर्षबाट बढाएर पाँच वर्षमा गर्न र एउटा होटेलमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाइनेबारे कानुनमै व्यवस्था गर्न सुझाएका हुन् ।
क्यासिनो व्यवसायी अमूल्य राणाले एउटै होटेलको फरक फरक भागमा छुट्टाछुट्टै क्यासिनो सञ्चालन गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाल क्यासिनोको इजाजतपत्र प्रत्येक वर्षमा नवीकरण गर्ने व्यवस्था छ । यसले गर्दा बैङ्किङ तथा अन्य वित्तीय सहुलियत प्राप्त गर्न समस्या रहेको छ । अब प्रस्तावित विधेयकमा उक्त नवीकरण अवधि बढाएर तारे होटेल जस्तै पाँच वर्षमा गर्ने व्यवस्था गर्न आवश्यक छ । त्यस्तै क्यासिनोको वर्गीकरण नगरी एउटै होटेलको फरक फरक भागमा छुट्टाछुट्टै क्यासिनो सञ्चालन गर्न नपाउने गरी कानुनी व्यवस्था स्पष्ट गर्न आवश्यक छ ।”
व्यवसायी बलराम सापकोटाले भन्नुभयो, “सरकारले सानो क्यानिसो खोल्न प्रोत्साहन गर्नुभन्दा ठुलो लगानी र रोजगारी सिर्जना गर्ने क्यासिनोलाई प्राथमिकता दिनु पर्छ ।”


















