
काठमाडौँ, भदौ २५ गते । विगत १५ वर्षदेखि जिल्लाको रामपुरमा सञ्चालन हुँदै आएको बृहत् लाखेनाच प्रदर्शन कार्यक्रम यस वर्ष स्थगित भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रामपुर नेवाः समाजले यस वर्षको कार्यक्रम स्थगित गरेको हो।
समाजले नेवाः देय दवु रामपुरको संरक्षणमा पाल्पा, स्याङ्जा र तनहुँमा प्रदर्शन हुने स्थानविशेषका फरक–फरक शैलीका लाखेनाच हरेक वर्ष श्राद्धपूर्णिमाका दिन प्रदर्शन गर्दै आएको थियो।
मंगलबार बसेको समाजको कार्यसमिति बैठकले विपद्को समयलाई मध्यनजर गर्दै लाखेनाच प्रदर्शनलगायत सम्पूर्ण मनोरञ्जनात्मक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले बताउनुभयो।
साथै, समाजले विपद्को समयमा प्रभावितको राहतमा जुट्न अपिलसमेत गरेको छ। रामपुरमा नेवाः समाजले यस वर्ष गाईजात्रासमेत बजार परिक्रमा नगराई मृतकको घर परिसरमा मात्र प्रदर्शन गरेको थियो भने रोपाइँ जात्रा स्थगित गरेको थियो।
समाजले गत वर्ष श्राद्धपूर्णिमाका दिन २८ समूहको लाखेनाच एउटै मञ्चमा प्रदर्शन गरेको थियो। परम्परागत संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न समाजले कार्यक्रमलाई निरन्तरता दिँदै आएको थियो।


















