
काठमाडौँ, असार ३० गते । पश्चिम बागलुङमा पर्ने तारा खोला जैविक गाउँपालिकाको रूपमा परिचित छ । यो पालिका स्रोत साधनसँगै कला संस्कृतिले धनी मानिन्छ ।
असारे, भदौरे, सिस्नो खोस्ने र भुस पोल्ने पर्व यहाँका सांस्कृतिक धरोहर हुन् । ताराखोलाका मगर समुदायले राघे, माघेसङ्क्रान्ति र श्रीपञ्चमी पर्वलाई पनि विशेष रूपमा मनाउने गर्छन् ।
बर्सेनि असार महिनामा यहाँ असारे पर्व मनाइन्छ । असारे तरामी मगरको पुस्तैनी पर्व हो । असारे पर्व सुरु भएपछि तारा खोलाको करिमेलामा रौनक छाएको छ । असारे पर्वलाई खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देउता पुज्ने पर्वका रूपमा लिइन्छ ।
नयाँपुस्ताले असारे मेलाका रूपमा संस्कृति धाने पनि जनबोलीमा भने असारे प्रचलित छ । बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे बस्ने गरिएको बूढापाका बताउनुहुन्छ । आराम र मनोरञ्जनका लागि असारे पर्व सुरु भएको विश्वास गरिन्छ ।
बर्खे झरीको बेवास्ता गर्दै तारा खोलावासीले असारे पर्वलाई हर्षाेउल्लासका साथ मनाउने असारे सांस्कृतिक संरक्षण मञ्चका अध्यक्ष ओमबहादुर रोकाले बताउनुभयो । स्थानीय झकबहादुर घर्तीले डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारे पर्वको चलन बसालेको स्मरण गर्नुहुन्छ ।
‘‘असारको उजेली पक्ष पारेर पर्व सुरु हुन्छ” घर्तीले भन्नुभयो, “पूजाआजा गर्ने, बलि चढाउने परम्परा छ ।” पर्वको अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन छ ।
असारेलाई साँचेर तरामीमगरको कूल घरमा राखिएको जमरालाई त्यही पिङमा चढाउने र वाचा बाँध्ने गरिन्छ । गाउँलेले मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन् । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । वर्षातमा बाढी पहिरोजस्ता प्रकोप नहोस्, रोगव्याधी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृतिको पूजा गरिन्छ ।














