
काठमाडौँ, भदौ १९ गते । ग्यास उद्योगीले काठमाडौँ उपत्यकाका लागि ग्यास सिलिन्डरको मूल्य बढाएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घले बिहीबार निर्णय गर्दै हाल कायम मूल्यमा १०५ रुपियाँ ३८ पैसा थपेर दुई हजार १६५ रुपियाँ ३८ पैसा नयाँ मूल्य निर्धारण गरेको हो । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर २०६० रुपियाँ कायम थियो ।
सङ्घले भदौ १४ गते आइतबार कृष्णभिरमा गएको पहिरोका कारण वैकल्पिक मार्गबाट ग्यास भरण गरेर ल्याउनुपर्ने भएकाले ढुवानी लागत बढ्ने भएकाले ग्यासको मूल्य बढाउनु परेको जनाएको छ ।
पृथ्वी राजमार्गको कृष्णभिर क्षेत्रमा पहिरो गएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा ग्यास बिक्री गरिरहेका उद्योगलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगमा भरण गरेर वैकल्पिक मार्गबाट ल्याउन दिने निर्णय गरेको थियो । सङ्घले ग्यास उद्योगी र विक्रेतालाई नयाँ सिलिन्डर बिक्री नगर्न पनि अनुरोध गरेको छ ।


















