
हिले, असार २४ गते । पूर्वी पहाडका लिम्बु बस्तीमा हरेक उत्सव, शुभकार्य तथा सांस्कृतिक अवसरमा गुञ्जिने बाजा हो– च्याब्रुङ (केलाङ)। काँधमा झुन्ड्याएर बजाइने यो बाजा लिम्बु समुदायको सांस्कृतिक पहिचान, परम्परा र मौलिकताको महत्त्वपूर्ण प्रतीकका रूपमा आज पनि जीवित छ।
दुवैतर्फ छाला कसिएको ढोलजस्तो संरचना भएको च्याब्रुङ विशेषगरी उधौली–उभौली, चासोक तङनाम, विवाह, घरप्रवेश, स्वागत–सत्कार, सांस्कृतिक महोत्सव तथा अन्य शुभ अवसरमा बजाइन्छ। अवसरअनुसार यसको ताल, बजाउने शैली र नृत्य फरक–फरक हुन्छ। एक हातमा काठको सानो लट्ठी र अर्को हातले सिधै बजाइने यस बाजाको तालमा प्रस्तुत गरिने च्याब्रुङ नृत्यमा चराचुरुङ्गी तथा वन्यजन्तुको चाल–ढालसमेत झल्किने विशेषता रहेको छ।
तेह्रथुमको छथर गाउँपालिकाका काजीमान आङ्खेवा च्याब्रुङले समुदायलाई एकताबद्ध बनाउने, हर्ष र उत्साह अभिव्यक्त गर्ने तथा सांस्कृतिक पहिचान संरक्षण गर्ने महत्वपूर्ण माध्यमको रूपमा काम गरेको बताउनुहुन्छ। उहाँका अनुसार च्याब्रुङले मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि झल्काउँछ।















