
दक्षिण एशिया नेटवर्क टेलिभिजन, काठमाडौं असोज १९ गते । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ। यस पदयात्रामार्गको विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढेका हुन्।
निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढेको पर्यटन व्यवसायीको भनाइ छ।
छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक ३०० हाराहारीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्।
एबिसीमा पर्यटकलाई राख्न सकिने ६ वटा होटल तथा लज रहेका छन्। यहाँका होटलमा ३ सय ५० सम्म पर्यटक राख्न सक्ने क्षमता छ। ‘स्वदेशी पर्यटक छैनन् तर विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको छ। अहिले यहाँ आउने सबै सडकहरु पनि खुलेका कारणले पदयात्रा सहज भएको छ,’ गुरुङले भने।
यसअघि वर्षा र बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सडक तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो। अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सडक अवरुद्ध भएको थियो। गाउँपालिकाले झन्डै डेढ महिना लगाएर असोज पहिलो साता सडक खुलाएको हो।
मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सडक तथा पदयात्रा मार्ग पहिरोका कारण अवरुद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेको सचिव गुरुङले बताए। ‘मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ। त्यसकारण पनि साउथ एसियन मुलुकका पर्यटकको पर्यटकको रोजाइ एबिसीमा बढेको हो। नेपाली पर्यटन दसैँ सुरु भएपछि आउने अपेक्षामा छौँ,’ छोम्राङ पर्यटन व्यवस्थापन समितिका सचिव गुरुङले भने।
अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएपछि पोखराबाट पदयात्राको सुरुआती बिन्दुसम्म पुग्न पनि सहज भएको छ। सडक यातायात सहज हुनु र पदयात्रा मार्गमा समेत अवस्था सामान्य बन्दै जानुले पर्यटकको आवागमन बढाएको हो। अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले पोखरादेखी–घान्द्रुक–एबिसीसम्मको सबै सडक अहिले खुला रहेको बताए। उनले कतिपय स्थानमा अस्थायी प्रबन्ध गरेर भए पनि पदमार्ग खुला गरिएको बताए। ‘बिरेठाँटी र स्याउली बजार खुल्यो। घान्द्रुकबाट माथि पनि अब समस्या छैन। अब एबिसी ट्रेक आउने स्थायी र अस्थायी सबै सडक खुलेको। नयाँपुल, घान्द्रुक, छोमरुङ सबै ठाउँबाट आउन सकिन्छ,’ वडाध्यक्ष गुरुङले भने।
यसैगरी, दुई महिनाअघि किम्रुङखोलाले पक्की झोलुङ्गे पुल बगाएर अवरुद्ध बनेको पदमार्ग किम्रुङ खोलामाथि काठे फड्के निर्माण गरी पदमार्ग सञ्चालनमा ल्याइएको छ। अन्नपूर्ण आधार शिविर समुद्री सतहबाट करिब चार हजार १ सय ३० मिटरको उचाइमा रहेको छ। हिमालको काखमै पुगेर अन्नपूर्ण हिमशृङ्खला तथा माछापुच्छ्रे हिमालको मनोरम दृश्यावलोकन गर्न पाइने भएकाले एबिसी पदयात्रा विश्वका चर्चित पदयात्रा गन्तव्यमा मानिन्छ।
विशेषगरी हिमालको नजिकबाट सूर्योदय तथा हिमशृङ्लाको दृश्यावलोकन, स्थानीय संस्कृति र जीवनशैलीको अनुभव गर्न सकिने भएकाले एबिसी पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ। एबिसी पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति, स्थानीय जीवनशैली, हिमाली गाउँबस्ती, हरियाली वन, झरना, खोलानाला र हिमाली भू–दृश्यको अवलोकन गर्न पाउँछन्।
माछापुच्छ्रे आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग यस क्षेत्रको प्रमुख आकर्षण हो। पदयात्राका क्रममा माछापुच्छ्रे, अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम लगायतका हिमालहरु नजिकबाट अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटक आगमन बढेसँगै गाउँपालिकाले पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर हालै प्राथमिक उपचार केन्द्र पनि सञ्चालनमा ल्याएको छ।
माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो। केन्द्रबाट एबिसी तथा माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीबाट तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराउन सहज हुनेछ।
एबिसी पदयात्रामा आउने पर्यटकहरु बिरामी पर्ने तथा हाई अल्टिच्युड (उच्च उचाइ)का कारणले लेक लागेर ज्यान पनि जाने गरेको थियो।










