
काठमाडौँ, असोज १० गते । पाकिस्तानी सुरक्षा बलले पाकिस्तान-अफगानिस्तान सीमा क्षेत्रको गुलिस्तान सेक्टरमा भएको सीमा-पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानी सुरक्षा स्रोतले शुक्रबार बताएका छन् । झडपका क्रममा अफगान तालिवानका केही सदस्य मारिएको उनीहरूले जनाएका छन् । सुरक्षा स्रोतका अनुसार अफगान बलले सीमा पार गरी पाकिस्तानी भू-भागमा प्रवेश गर्ने प्रयास गरेका थिए ।
त्यस क्रममा पाकिस्तानी सुरक्षा बलले प्रतिकार गरेपछि भएको झडपमा अफगान तालिवानका केही सदस्य मारिएका हुन् । सीमा क्षेत्रमा छिटपुट गोली हानाहान जारी रहेको र पाकिस्तानी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको स्रोतले बताएका छन् । सीमापारिबाट पाकिस्तानी भू-भागमा प्रवेश गर्ने कुनै पनि प्रयासको प्रतिकार गर्न सेना पूर्णरूपमा तयार रहेको पनि उनीहरूले बताएका छन् । रासस/सिन्ह्वा


















