
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १५ गते । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला परेका थिए।
हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले बिहीबार दिउँसो र अपराह्न गरी आठ शव फेला पारेको हो। उद्धार टोली प्रमुख पासाङ काजी शेर्पाले आज आठ शव फेला परेको जानकारी दिएका छन्।
यसअघि बुधबार तीन जनाको शव भेटिएको थियो। खोज तथा उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो।
त्यस्तै, आइतबार र सोमबार चार जनाको शव भेटिएको थियो। वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको उद्धार टोलीले जनाएको छ।
असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोमा १६ जना हराएका थिए भने ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।
हिमपहिरोमा हराएकामध्ये बिहीबार अपराह्नसम्म १५ जनाको शव भेटिएको छ। अझै एक जना हराइरहेका छन्। हराएका आरोहीको खोजी जारी रहेको संघले जनाएको छ।


















