
काठमाडौँ, साउन ११ गते । म्याग्दीको मालिका गाउँपालिका भित्र पर्यटकीय महत्वका ३५ स्थान चयन गरी घोषणा गरिएको छ । मालिका गाउँपालिका तथा म्याग्दी उद्योग बाणिज्य संघ मालिका गाउँपालिका बजार इकाइले पालिकाभित्रका ७ वटै वडामा पर्ने ३५ स्थानलाई पर्यटकीय महत्वका स्थानको रुपमा चयन गरेको हो ।
मालिका गाउँपालिका, म्याग्दी उद्योग बाणिज्य संघ मालिका बजार इकाइ र आन्तरिक राजस्व कार्यालय बागलुङको संयुक्त आयोजनामा मालिका गाउँपालिकाको केन्द्र दरवाङमा साउन ९ गते शनिबार आयोजित करदाता शिक्षा तथा स्थान घोषणा कार्यक्रममा गाउँपालिका भित्रका स्थानहरुको नाम तथा विभिन्न स्थानहरुको तस्बिरसहितको पोष्टर सार्वजनिक गर्दै पर्यटकीय स्थलहरुको नाम घोषणा गरिएको हो ।
मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत राजनमणी शर्मा, राजन सापकोटा, म्याग्दी उद्योग बाणिज्य संघ मालिका बजार इकाईका अध्यक्ष लेकबहादुर पुन तथा सल्लाहकारहरु मोतिराज गौतम, सन्तोष सुवेदीलगायतले पर्यटकीय स्थानहरु समेटिएको ब्यानर संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
घोषणा गरिएका स्थानहरुमा मालिका गाउँपालिका –१ मा सिद्ध बराह ताल, स्लेट खानी, स्याल तथा भालु गुफा र महशिकार स्थल रहेका छन् । त्यसैगरी २ नम्बर वडामा दुरलेक, स्लेट खानी, स्टोन भिलेज र घोडेनाचलाई पर्यटकीय महत्वका साथ समावेस गरिएको छ । वडा नम्बर ३ मा शोले डाँडा, तामा खानी, किटेनी र दुरलेकलाई समावेस गर्दा ४ नम्बर वडामा भने शोले धुरी, तामा खानी, मह शिकार, शोरठी तथा पुख्र्यौली नाच र तहको ताललाई पर्यटकीय रुपमा महत्वको चयन गरिएको छ ।
मालिका गाउँपालिका –५ मा मालिका धुरी, देउताभिर गुफा, गाइखर्क र हकलाङ पिकनिक स्पटलाई महत्वका साथ चयन गरिएको छ । त्यस्तै, गाउँपालिकाको केन्द्र समेत रहेको वडा ६ मा नेपालमै चर्चित भालेबास्ने ताल, दुखु तामाखानी, पुख्र्यौली ख्याली नाच, महशिकार तथा महखानी, मालिका धुरी, दरवाङ भगवती मन्दिर र शिवालय मन्दिर चयन गरिएको छ ।
मालिका गाउँपालिका भित्रका पर्यटकीय महत्वका स्थान तथा संस्कृतिहरु छान्ने क्रममा ७ नम्बर वडामा प्रभुचेला धुरी तथा पाथीभरा मन्दिर, किसानी माध्यमिक विद्यालयको प्राविधिक शिक्षा, मालिका मन्दिर र बाइन्दोफाँट बराहताललाई छनौट गरिएको छ ।
म्याग्दी उद्योग बाणिज्य संघ मालिका बजार इकाइका अध्यक्ष लेकबहादुर पुनले गाउँपालिका भित्रका पर्यटकीय महत्वका संस्कृति तथा स्थानको पहिचान गरेर चालु साउनदेखि आगामी असारसम्म प्रचार प्रसारमा सबैले प्रयास गर्ने बताउनुभयो ।
उपाध्यक्ष अमृत सापकोटाले नेपाल पनि हिमाल, जैविक विविधता, संस्कृति र धार्मिक सम्पदाका कारण विश्वकै आकर्षक पर्यटन गन्तव्य रहेको र सगरमाथादेखि लुम्बिनीसम्म, अन्नपूर्ण पदमार्गदेखि मुक्तिनाथसम्म नेपालले विश्वलाई आकर्षित गरिरहेको स्थान रहेको अवस्थामा मालिका गाउँपालिकाले पर्यटन क्षेत्रमा केही योगदान होस् भनेर स्थान पहिचान गरेको बताउनुभयो ।
पर्यटकीय महत्वका स्थानको पहिचान गरेर प्रचार प्रसार गर्ने योजना बनाइनु निकै राम्रो काम रहेको र यसले आगामी दिनमा आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालको भनाइ छ ।













