नेभिगेसन मेनु

जनकपुरधाममा मधुश्रावनीको रौनक, नवविवाहितामा उत्साह
सम्पादक:南亚网络电视
समय:2026-08-08 13:19

 

 IMG_5246

काठमाडौँ, साउन २३ गते । मिथिलाञ्चलमा नवविवाहित महिलाको आस्था, दाम्पत्य प्रेम र परम्परागत संस्कृतिको प्रतीकका रूपमा मनाइने मधुश्रावनी पर्वको उल्लास यतिबेला जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा छाएको छ । धार्मिक विश्वास र सांस्कृतिक महत्त्व बोकेको यस पर्वले नवविवाहित महिलालाई उत्साह, समर्पण र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गरेको छ ।

गत सोमबार साउन कृष्ण पञ्चमीदेखि सुरु भएको यो पर्व साउन शुक्ल तृतीयासम्म १३ दिन मनाइन्छ । विशेषगरी विवाहपछिको पहिलो वर्ष नवविवाहिताले माइतीमा बसेर मनाउने परम्परा रहेको छ । पर्वका अवसरमा साउन महिनाभर भगवान् शिव, माता पार्वती र नागदेवताको पूजा–आराधना गर्दै पति तथा दाम्पत्य जीवनको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने चलन छ ।

माइती पुगेका चेलीहरूको आगमनसँगै गाउँ–सहरका घरआँगनमा चहलपहल बढेको छ । जनकपुरधामस्थित जानकी मन्दिर, विवाह मण्डप तथा विभिन्न शिव मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

कपिलवस्तुबाट जनकपुरधाम आउनुभएकी नवविवाहिता मोनिका झाले मधुश्रावनी महिलाको जीवनमा एकपटक मात्र मनाइने भएकाले यसको विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले यो पर्वलाई परिवार र संस्कृतिसँग जोडिएको उत्सवका रूपमा लिने गरिएको उल्लेख गर्नुभयो ।

अर्की नवविवाहिता ज्ञानसाक्षीले मधुश्रावनीका अवसरमा महिलाहरू समूहमा भेला भएर फूल टिप्ने (फुललोरी) गर्दै विभिन्न मठमन्दिरमा पूजा गर्ने र परम्परागत मिथिला गीत गाउने चलन रहेको बताउनुभयो । यस्ता गतिविधिले मिथिला संस्कृतिलाई जीवन्त राख्नुका साथै समाजमा पर्वको रौनक बढाएको उहाँको भनाइ छ ।

मधुश्रावनीमा आमाले छोरीलाई विशेष परिकार खुवाउने, लोककथा सुनाउने तथा वैवाहिक जीवनका संस्कार र जिम्मेवारीबारे शिक्षा दिने परम्परा पनि रहेको छ । यसले पर्वलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी पुस्तान्तरण हुँदै आएको मिथिला संस्कृतिको महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित गरेको छ ।

कर्ण गोष्ठी महिला समूहकी अध्यक्ष प्रेमबितिनाले मधुश्रावनी विवाहिता महिलाले पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै गर्ने कठोर व्रतमध्ये एक भएको बताउनुभयो । विवाहपछि केही समय माइतीमा बस्ने परम्पराअनुसार अधिकांश नवविवाहिताले यो पर्व माइतीमै मनाउने र पर्वभरि ससुरालीबाट पठाइएका सात्विक भोजन तथा पहिरन मात्र प्रयोग गर्ने चलन रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मधुश्रावनी विशेषगरी कायस्थ, मैथिली ब्राह्मण र ब्याहुत सोनार समुदायमा मनाइन्छ । पर्वमा विषहरा अर्थात् नागदेवताको पूजा गरी श्रीमान्को दीर्घायु र सुखमय जीवनको कामना गर्ने परम्परा छ ।

साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म मनाइने यस पर्वमा पूजा सुरु हुनुअघि कृष्ण चतुर्थीदेखि नै सात्विक भोजन गर्नुपर्ने तथा पूजामा प्रयोग हुने सामग्री ससुरालीबाट आएको हुनुपर्ने धार्मिक मान्यता रहेको छ ।

उहाँले जनकपुरधामस्थित गंगासागरमा मधुश्रावनीको अवसरमा हरेक वर्ष विशेष कार्यक्रम आयोजना हुँदै आएको बताउनुभयो । कार्यक्रममा सुहागका चिनोसहित खोइँच प्रदान गर्नुका साथै चुनरी ओढाएर सम्मान गरिने उहाँले जानकारी दिनुभयो । यस्ता कार्यक्रमले मैथिली संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुगेको उहाँको भनाइ छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर