नेभिगेसन मेनु

विपत्बिच बढ्यो विद्युत् निर्यात
सम्पादक:南亚网络电视
समय:2026-10-26 12:15

 

 5f

काठमाडौँ, कात्तिक ९ गते  । भोटेकोशी र बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका बिच पनि नेपालको विद्युत् निर्यातमा भने सकारात्मक सुधार देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले गत असोजमा मात्र भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख रुपियाँँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको छ । 

नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भारप्रेषण केन्द्र) को तथ्याङ्क अनुसार असोजमा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार आठ युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट पाँच अर्ब ९२ करोड ५० लाख रुपियाँ बराबरको कारोबार भएको विभागले जनाएको छ । २०८२ असोजमा भारततर्फ चार अर्ब ९६ करोड ३० लाख रुपियाँ बराबरको कारोबार भएको थियो । चालु आवको भदौमा यस्तो कारोबार रकम पाँच अर्ब नौ करोड २५ लाख रुपियाँ रहेको थियो । गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपियाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपियाँले बढेको छ । चालु आव २०८३/८४ को पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपियाँ बराबरको कारोबार भएको छ । 

भारततर्फ विद्युत् निर्यात दुई तरिकाले हुने गरेको छ । भारतको हरियाणा र विहार राज्यलाई द्विपक्षीय विद्युत् बिक्री सम्झौता अनुसार विद्युत् बिक्री हुन्छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार यी राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत्  बिक्री गरिन्छ । 

त्यस्तै भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा नेपालको बिजुली बिक्री हुने गरेको छ । प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको बर्खायामको विद्युत् प्रत्येक वर्ष भारत र बङ्गलादेशमा निर्यात गर्दै आएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौता अनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको जानकारी दिनुभयो । “बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भयो,” उहाँले भन्नुभयो, “तर आन्तरिक खपत र निर्यातका लागि सहज हुने गरी प्राधिकरणमार्फत भएको पनि तात्कालिक र वैकल्पिक व्यवस्थापनका कारण विद्युत् निर्यातमा प्रगति कायम भएको हो ।”  

बङ्गलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु

यसैबिच नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात गत शुक्रबार कात्तिक ६ गते साँझदेखि पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पु-याएपछि निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौताबमोजिम स्वीकृतिप्राप्त जलविद्युत् केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यात आंशिक रूपमा प्रभावित भएको थियो । 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न स्वीकृतिप्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । उहाँले अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिनु र बङ्गलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महìवपूर्ण उपलब्धि भएकोे उल्लेख गर्नुभयो । यसबाट बर्खायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । नयाँ व्यवस्था अनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृतिप्राप्त  भएको हो । 

नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बिच २०८१ असोज १७ गते बर्खायामको विद्युत् निर्यातसम्बन्धी पाँचबर्से सम्झौता भएको थियो । सम्झौता अनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको छ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात हुँदै आएको छ । 

यसैबिच भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यात अनुमतिप्राप्त भएको प्राधिकरणले जनाएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृतिप्राप्त कुल विद्युत् क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी