नेभिगेसन मेनु

बूढीगण्डकीमा भीषण बाढी, चुमनुब्रीका ४–५ बस्ती बगायो, उद्धारका लागि हेलिकप्टर परिचालन
सम्पादक:南亚网络电视
समय:2026-10-11 11:14

gorkha-motreable-bridge_budhigandaki-badhi

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २५ गते । गोरखाको चुमनुब्री गाउँपालिका–६ चुमचेत क्षेत्रमा सुक्खा पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आइतबार बिहान आएको भीषण बाढीले चुमनुब्री गाउँपालिका–३ का ४–५ वटा बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, पुल, सडकमा रहेका सवारीसाधन तथा विभिन्न भौतिक संरचना बगाएको छ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब साढे ३ बजे नदीमा एक्कासि बाढी आएको हो। बाढीले वडा नम्बर ३ का घट्टेखोला, पैयुँ, सल्लेरी र जगत बगर क्षेत्रका बस्तीमा क्षति पुर्‍याएको उनले जानकारी दिइन्।

‘बाढीको सूचना पाएपछि स्थानीयले बस्ती छाडेकाले मानवीय क्षति भएको सूचना अहिलेसम्म आएको छैन,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘तर स्थानीयका घर तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ।’

बाढी प्रभावित क्षेत्रमा पुग्न नसकिएकाले क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत न्याक्चेत र फिलिम बजार जोड्ने पुलसमेत बगाएको गृहमन्त्री सुधन गुरुङले बताएका छन्। उनका अनुसार घट्टेखोला क्षेत्रमा केही घरभित्र लेदोसहितको पानी पसेको छ भने बूढीगण्डकी नदीको बहाव निरन्तर बढिरहेको छ।

घटनालगत्तै उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उद्धारका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन्।

बाढीले नदीको तल्लो तटीय क्षेत्रमा रहेका सडक, परियोजनाका भवन तथा अन्य संरचनामा समेत क्षति पुर्‍याएको छ। केही पुलमा पनि क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले बाढीको बहाव नघटेसम्म बूढीगण्डकी नदी आसपास तथा त्रिशूली दोभानसम्मका नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सतर्क गराउन र जोखिममा रहेका व्यक्तिलाई समयमै सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।

गृहमन्त्री गुरुङले बूढीगण्डकी नदी किनारका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान तथा उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।

आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन्।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर