
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २५ गते । बूढीगण्डकीमा बाढी आउँदा ठूलो भौतिक क्षति भएको छ।
आइतबार बिहान माथिल्लो गोरखाको चुमनुब्री गाउँपालिका–६ को लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी थुनिएपछि बाढी आएको हो।
चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको हो।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। त्यस्तै सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को एउटा घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। माछिखोलाकै तल्लो बस्तीमा बाढी पस्दा ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित २०–२२ वटा घर जोखिममा रहेको बताइएको छ। सल्लेरीमै रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ। त्यहाँको बस्ती भने सरकारले मुआब्जा दिएर हटाएको थियो।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ। यसैगरी आरुघाटका स्थानीयबासी धर्मेन्द्र श्रेष्ठका अनुसार बाढीले आरुघाटको पक्की पुलको एक भाग पनि बगाएको छ । अहिले आरुघाटका स्थानीयबासी अग्लो क्षेत्रमा गएर बसिरहेका छन् । पूर्वसुूचनाका कारण मानविय क्षतिको विवरण हालसम्म नआएपनि भौतिक क्षति निकै रहेको उनको भनाई छ । आरुघाटमा पनि नदी तटिय क्षेत्रमा रहरेका घरछहरा बगाएको उनको भनाई छ ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाले बाढीको विस्तृत क्षति विवरण आउन बाँकी रहेको जनाएको छ । अहिले प्रहरीले गोरखा, तनहुँ, चितवनसम्मै तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रहिरीले माइकिङ गरिरहेको छ । बाढीले नदीको तल्लो तटीय क्षेत्रमा रहेका सडक, परियोजनाका भवन तथा अन्य संरचनामा समेत क्षति पुर्याएको जानकारी प्राप्त भएको छ । केही पुलमा पनि क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढी पूर्वानुमान महाशाखाले बाढीको बहाव नघटेसम्म बूढीगण्डकी नदी आसपास तथा त्रिशूली दोभानसम्मका नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सतर्क गराउन र जोखिममा रहेका व्यक्तिलाई समयमै सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।


















