
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २५ गते । नेपाली सेनाले नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भारवहन क्षमताको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको छ। पुल सञ्चालनमा आएसँगै नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने भएको छ।
७३ दशमलव २ मिटर लामो र ५ दशमलव ५ मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता ४० टन छ। पुल सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री तथा अत्यावश्यक वस्तु ढुवानी गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ। नेपाली सेनाले निर्माण सम्पन्न गरेको पुल एक कार्यक्रमबीच गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
सेनाले पुल निर्माणका लागि करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाएर पहुँचमार्ग निर्माण गरेको थियो। त्यसपछि असोज २० गतेदेखि पुल निर्माणको काम सुरु गरिएको थियो। बाढीका कारण सडक तथा यातायात सम्पर्क प्रभावित भएका क्षेत्रमा पुल सञ्चालनमा आएसँगै स्थानीयवासीको आवतजावत सहज हुनुका साथै राहत तथा उद्धार कार्यमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
पुल निर्माण सम्पन्न भएसँगै नुवाकोट र रसुवाबीचको सडक सम्पर्क सुधार गर्न तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र राहत वितरणलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।


















