
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर तथा दुई पटकका विश्वकप विजेता मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ।
अली यस सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन्।
यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ।
बायाँ हाते ब्याटर र अफस्पिन बलर मोइन इंग्ल्यान्ड क्रिकेटको सफल युगका प्रमुख खेलाडी थिए।
उनी सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इंग्ल्यान्ड टोलीका सदस्य थिए। सन् २०२२ मा अस्ट्रेलियामा भएको टी२० विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए।
तीनै ढाँचामा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका मोइन टेस्ट क्रिकेटमा ३ हजारभन्दा बढी रन र २ सयभन्दा बढी विकेट लिने थोरै अंग्रेज खेलाडीमध्ये पर्छन्।
उनले टी२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डको कप्तानी पनि गरिसकेका छन्।
सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका मोइन विश्वका प्रमुख फ्रेन्चाइज लिगमा निरन्तर सक्रिय छन्। इन्डियन प्रिमियर लिगमा उनले चेन्नई सुपर किंग्सबाट खेल्दै सन् २०२१ र २०२३ मा उपाधि जितेका थिए।
अलीले नेपाली क्रिकेटको माहोल आफैं अनुभव गर्न आतुर रहेको बताए।
ुनेपाली क्रिकेट समर्थकहरूको अपार जोश र आफ्नो टोलीलाई समर्थन गर्न जहाँसुकै पुग्ने उनीहरूको समर्पण मैले देखेको छु। अब त्यो अद्भुत माहोल आफैँ अनुभव गर्न आतुर छु। बोल्ट्सका लागि यो सिजन रोमाञ्चक रहने अपेक्षा छ। म मैदानमा टोलीका लागि आफ्नो शतप्रतिशत दिन तयार छु,ु उनले भने।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मधेशका क्रिकेट प्रेमीलाई अलीको अनुबन्धन एक उपहार रहेको बताए।
ुअलीको आगमन नेपाली क्रिकेट र एनपीएलको बढ्दो विश्वव्यापी पहिचानको प्रमाण हो। यो अनुबन्ध हाम्रा समर्थक र आफ्नो टोलीलाई मुटुभन्दा प्यारो मान्ने मधेशका जनताप्रति समर्पित छ। तपाईंहरूको माया र विश्वासका लागि यो हाम्रो उपहार हो। यसपटक जनकपुरको गर्जन अझ ठूलो हुनेछ, उनले भने।


















