
काठमाडौं, भदौ १५ गते । रुपन्देहीमा सरकारले ठुलो रकम खर्च गरेर निर्माण गरेका अन्तर्राष्ट्रियस्तरका पूर्वाधार अपेक्षा अनुसार सञ्चालनमा आउन सकेका छैनन् । यसले गर्दा सरकारी लगानीलाई आधार मानेर गरिएको निजी क्षेत्रको लगानी सङ्कटमा पर्न थालेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र र भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) जस्ता संरचना निर्माण हुँदा त्यसबाट पर्यटन, उद्योग, रोजगारी र लगानी विस्तार हुने अपेक्षा गरिएको थियो तर अधिकांश संरचना पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा सरकारले गरेको लगानीको प्रतिफलसँगै निजी क्षेत्रको लगानी पनि सङ्कटमा परेको छ ।
विशेष गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भैरहवा र आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्ने भन्दै निजी क्षेत्रले सुविधासम्पन्न होटेल तथा अन्य व्यवसायमा ठुलो लगानी गरेको थियो । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा भने होटेल व्यवसायीले अपेक्षित लाभ पाउन सकेका छैनन् ।
रुपन्देहीका होटेलमा मात्रै हालसम्म करिब सवा खर्ब रुपियाँ लगानी भएको व्यवसायीको भनाइ छ । जिल्लाभरि सानाठुला गरी करिब दुई हजार पाँच सय होटेल छन् । तीमध्ये करिब १५० भन्दा बढी सुविधासम्पन्न स्तरीय होटेल सञ्चालनमा छन् ।
विमानस्थलमा यसअघि जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान गर्दै आएका थिए । पछिल्लो समय भने यी कम्पनीले चिसो मौसमको उडानमा भैरहवालाई प्राथमिकता नदिएपछि अन्तर्राष्ट्रिय उडानविहीन अवस्था आएको छ । यसले विमानस्थललाई केन्द्रमा राखेर गरिएको निजी लगानीको जोखिम थप बढाएको व्यवसायी बताउँछन् ।
नेपाल उद्योग परिसङ्घ लुम्बिनीका अध्यक्ष एजाज आलमले सरकारी ठुला परियोजना निर्माणअघि गरिएको प्रचार र त्यसपछि देखिएको अवस्थाबिच ठुलो अन्तर रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भैरहवामा विमानस्थल बनाउँदा होस् वा लुम्बिनी र बुटवलमा सम्मेलन केन्द्र बनाउँदा, पर्यटक र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमको अभाव हुँदैन भनिएको थियो । तर ठुला संरचना बने पनि अपेक्षा अनुसार पर्यटक आएनन् र अन्तर्राष्ट्रिय कार्यक्रम पनि हुन सकेनन् ।”
सरकारले विमानस्थलसँगै बुटवल र लुम्बिनीमा निर्माण गरेका सम्मेलन केन्द्रको अवस्था पनि उस्तै छ । नियमित कार्यक्रम नहुँदा ती संरचना अधिकांश समय खाली रहने गरेका छन् । तीनचार महिनाको अन्तरालमा मात्र ठुला कार्यक्रम हुने गरेकाले सञ्चालन तथा सरसफाइ खर्च धान्नसमेत समस्या देखिएको छ ।
बुटवलको रामनगरमा करिब आठ वर्ष लगाएर एक अर्ब ११ करोड रुपियाँको लागतमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि पर्याप्त प्रयोगमा आउन सकेको छैन । लुम्बिनीमा ७५ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रको उपयोग पनि अपेक्षित रूपमा हुन सकेको छैन ।
त्यसै गरी भैरहवामा करिब एक अर्ब रुपियाँ सरकारी लगानीमा निर्माण गरिएको विशेष आर्थिक क्षेत्र (सेज) ले पनि अपेक्षित गति लिन सकेको छैन । उद्योग स्थापना र सञ्चालनका लागि बनाइएको संरचना पूर्ण क्षमतामा प्रयोगमा आउन नसक्दा यसबाट सिर्जना हुने रोजगारी र औद्योगिक गतिविधिको अपेक्षित लाभ प्राप्त हुन सकेको छैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मात्रै ३५ अर्ब ६६ करोड रुपियाँ खर्च भएको छ । सुरुमा तीन वर्षमा सम्पन्न गर्ने गरी ३० अर्ब ९१ करोड रुपियाँ लागत अनुमान गरिएको विमानस्थल निर्माणमा समय थपिँदै जाँदा लागतसमेत बढेको हो । एसियाली विकास बैङ्कको ऋण तथा नेपाल सरकारको आर्थिक दायित्वमा निर्माण भएको विमानस्थलले पूर्ण क्षमतामा सञ्चालन भएर कहिले प्रतिफल दिन्छ भन्ने अझै स्पष्ट छैन ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारी परियोजनाको लाभ लिने विश्वासमा निजी क्षेत्रले गरेको लगानी अहिले जोखिममा परेको बताउनुभयो ।


















