
काठमाडौँ, भदौ १८ गते । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रकम जम्मा हुने क्रम जारी छ । एनआइएमबीले दुई करोड ५० लाख रुपियाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।
त्यस्तै कर्मचारी सञ्चय कोषले दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ । कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो । कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, कोषका प्रशासक विजयकुमार श्रेष्ठलगायत कोषका वरिष्ठतम अधिकृतहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
यसैबिच विद्युत् नियमन आयोगले एक करोड र हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट लिमिटेडले एक करोड एक लाख र ग्रिनभेन्चर्स लिमिटेडले ११ लाख रुपियाँ ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घ तथा सदस्य उद्योगबाट एक करोड एक लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ । सङ्घका अध्यक्ष विकास दुगडले अर्थमन्त्री डा. वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।
केएल दुगडले दियो खाद्य सामग्री
ऐएल दुगड गु्रुपले नुवाकोटका बाढी प्रभावित क्षेत्रका ७४० घरपरिवारलाई १५ दिनका लागि ३० लाख बराबरको खाद्य सामग्री प्रभावित क्षेत्रमा प्रदान गरेको छ । दुगड कम्पनीका निर्देशक विनोद न्यौपानेले प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खानेतेल बिस्कुट, चिउरा, विभिन्न मसलालगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ५१ लाख र सन सेक्युरिटिज प्रालिले दुई लाख ११ हजार १११ रुपियाँ प्रदान गरेको छ ।


















