
काठमाडौँ, भदौ २ गते । चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ प्रस्थान गरेको छ । नयाँ साप्ताहिक सेवा अन्तर्गत सञ्चालन हुने उक्त मार्गले चीन-युरोप समुद्री ढुवानीको समय करिब आधा घटाउने अपेक्षा गरिएको छ ।
यद्यपि, वातावरणीय समूहले आर्कटिक समुद्री बरफमा यसबाट थप दबाब पर्न सक्ने चेतावनी दिएका छन् । ‘दुबई टावर’ नामक जहाज शनिबार साँझ चीनको पूर्वी बन्दरगाह सहर निङ्बोबाट उत्तरी दिशातर्फ प्रस्थान गरेको हो । जहाज बेरिङ जलमार्ग हुँदै रुसको उत्तरी तटसँगैको आर्कटिक जलमार्गबाट पश्चिमतर्फ जाने छ ।
‘सी लेजेन्ड’ले सार्वजनिक गरेको समय तालिका अनुसार जहाज सेप्टेम्बर ७ मा बेलायतको फेलिक्सस्टो पुग्ने छ । त्यसपछि जर्मनीको ह्याम्बर्ग र पोल्याण्डको ग्दान्स्कमा रोकिने छ । चीनबाट युरोप जोड्ने उत्तरी समुद्री मार्ग (एनएसआर) स्वेज नहर हुँदै जाने परम्परागत मार्गभन्दा छोटो छ । यसले लालसागर हुँदै जानुपर्ने बाध्यता हटाउँछ, जहाँ यमनका हुथी विद्रोहीले पछिल्ला वर्षमा व्यापारिक पानी जहाजलाई लक्षित गर्दै आएका छन् ।
तर आर्कटिक मार्ग वर्षको सीमित अवधिमा मात्र आइसब्रेकरको सहयोग बिना सञ्चालन गर्न सकिन्छ, जब समुद्री बरफ पर्याप्त रूपमा पग्लिएको हुन्छ । अन्य अन्तर्राष्ट्रिय ढुवानी कम्पनीले पनि यसअघि आर्कटिक मार्ग प्रयोग गरिसकेका छन् । डेनमार्कको मास्र्क सन् २०१८ मा कन्टेनर जहाजमार्फत उक्त मार्ग पार गर्ने पहिलो प्रमुख ढुवानी कम्पनी बनेको थियो ।
व्यापारिक बीमा कर्ता एलियान्ज कमर्सियलको ढुवानी सम्बन्धी विश्लेषण अनुसार, गत वर्ष २३ वटा कन्टेनर जहाजले उत्तरी समुद्री मार्ग प्रयोग गरेका थिए, जुन सन् २०२४ मा १५ वटा थियो । वातावरणीय समूहले भने छोटो उत्तरी समुद्री मार्गमा जहाजको आवागमन बढ्दा आर्कटिक समुद्री बरफको क्षति थप तीव्र हुन सक्ने चेतावनी दिएका छन् ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण यस क्षेत्रको बरफ यसअघि नै तीव्ररूपमा घटिरहेको छ । फ्रान्सको सीएमए सीजीएम, स्विट्जरल्याण्डमा मुख्यालय रहेको एमएससी र जर्मनीको हापाग–लोयडलगायत प्रमुख ढुवानी कम्पनीले आर्कटिक ट्रान्ससिपमेन्ट मार्ग प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
विश्लेषकले आर्कटिकलाई भविष्यमा महत्वपूर्ण विश्व व्यापार मार्गका रूपमा विकास गर्न सकिने बताएका छन् । चीनले पनि ‘पोलर सिल्क रोड’ अवधारणामार्फत आर्कटिक क्षेत्रमा आफ्नो व्यापारिक पहुँच विस्तार गर्ने योजना अघि सारेको छ । रासस/एएफपी


















