
काठमाडौँ, साउन २३ गते । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले बिहीबार पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तरपश्चिमी स्वात जिल्लाको प्रहरी चौकीबाहिर भएको ‘जघन्य र कायरतापूर्ण’ आत्मघाती आक्रमणको कडा निन्दा गरेको छ । तेहरिक-ए-तालिबान पाकिस्तानले आक्रमणको दावीसहित जिम्मेवारी लिएको छ ।
परिषद्का सदस्यले पीडित परिवार र पाकिस्तानको सरकार र जनताप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । उनीहरूले आतङ्कवादका यी निन्दनीय कार्यका अपराधी, आयोजक र प्रायोजकलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।
यस सन्दर्भमा पाकिस्तानी सरकार र अन्य सबै सम्बन्धित अधिकारीसँग सक्रियरूपमा सहयोग गर्न सबै राज्यलाई आग्रह गरिएको छ । आतङ्कवादका विभिन्न रूप र अभिव्यक्ति अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा भएको जनाउँदै सुरक्षा परिषद्ले आतङ्कवादी कार्यले गर्दा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हुने खतरासँग सबै राष्ट्रले सबै तरिकाले लड्नुपर्ने कुरामा जोड दिएका छन् ।
विस्फोटमा एक आत्मघाती बम विस्फोटक टोलीले प्रहरी स्टेसनमा प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा मुख्य गेटमा प्रहरीले रोक्दा उनीहरुले विस्फोटक विस्फोट गरेको जनाइएको छ । थप पीडित तथा घाइतेकोसमेत मृत्यु भएपछि मृतकको सङ्ख्या १९ पुगेको स्थानीय अधिकारीले बताएका छन् । रासस/सिन्ह्वा


















