
काठमाडौँ, साउन २३ गते । कोरियाली प्रायद्वीपमा यस वर्षको गर्मीले कीर्तिमान तोड्दै तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेपछि उत्तर कोरियाले नागरिकलाई गर्मीबाट राहत पाउन कुकुरको मासुको सूप, जिनसेङयुक्त ब्रोथलगायत परम्परागत परिकार सेवन गर्न सुझाएको छ ।
दक्षिण कोरियामा भने अत्यधिक गर्मीका कारण २३ जनाको मृत्यु भइसकेको छ र गत साता लगातार तीन दिन नयाँ उच्च तापक्रमको रेकर्ड बनेको थियो । दक्षिण कोरियामा आइतबार तापक्रम ४२.५ डिग्री सेल्सियस पुगेको थियो । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले पनि देशका केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको जनाएको छ ।
गर्मी बढेसँगै त्यहाँ सैन्य गतिविधिका कारण हुने आगलागीको जोखिमबारे चेतावनीसँगै गर्मी छल्ने घरेलु तथा परम्परागत उपायबारे सामग्री सार्वजनिक भइरहेका छन् । उत्तर कोरियाको सरकारी अखबार रोडोङ सिनमुनले एक चिकित्सकलाई उद्धृत गर्दै आइतबारको चर्को गर्मीमा कुकुरको मासुको सूप सेवन गर्नु ‘पोषण पूरकका लागि लाभदायक’ बताएको छ । उत्तर कोरियामा कुकुरको मासुको सूपलाई परम्परागत रूपमा गर्मीको सबैभन्दा तातो समयमा सेवन गरिने परिकारका रूपमा लिइन्छ ।
त्यस्तै, सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले बुधबार सामग्ये–ताङ अर्थात् जिनसेङ, चिप्लो चामल र खुर्सानीसहितको ब्रोथमा पकाइएको कुखुराको परिकारलाई गर्मीका लागि उपयोगी खानाका रूपमा प्रस्तुत गरेको छ । केसीएनएले ‘जस्तो उपचार उस्तै’ भन्ने कोरियाली भनाइ उद्धृत गर्दै यसलाई दक्षिणी सीमावर्ती सहर केसाङको विशेष परिकारका रूपमा उल्लेख गरेको छ ।
केसीएनएका अनुसार केसाङमा उत्पादन हुने जिनसेङ विशेष माटो, पानी र खेती प्रणालीका कारण औषधीय गुणका हिसाबले उत्कृष्ट रहेको दाबी गरिएको छ । “कोरियाली जनताले गर्मीको सबैभन्दा तातो अवधिमा तातो खाना खानुलाई स्वास्थ्यका लागि राम्रो परम्परा मान्छन्”, सरकारी समाचार संस्थाले जनाएको छ ।
गर्मी छल्न तातो परिकार सेवन गर्ने यस्तो परम्परा एसियाका अन्य भागमा प्रचलित उपायभन्दा फरक देखिन्छ । अन्य कतिपय स्थानमा भने जाडोको खरबूजाको सूपजस्ता चिसो तथा हल्का परिकारलाई गर्मीमा राहत दिने परम्परागत खानाका रूपमा लिइन्छ ।
-विभाजित कोरियामा फरक दृश्य-
कुनै समय दक्षिण कोरियामा पनि गर्मीमा कुकुरको मासु लोकप्रिय परिकारका रूपमा सेवन गरिन्थ्यो । तर दक्षिण कोरियाले कुकुरको मासु उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाउने कानून कार्यान्वयन गर्दैछ र सन् २०२७ को फेब्रुअरीसम्ममा उक्त अभ्यास पूर्णरूपमा गैरकानूनी बन्ने छ । दक्षिण कोरियामा आइतबार तापक्रम कीर्तिमानी उचाइमा पुगेका बेला एएफपीका एक पत्रकारले दुई कोरियालाई छुट्याउने डिमिलिटाराइज्ड जोन (असैन्यीकृत क्षेत्र)को भ्रमण गरेका थिए । सन् १९५०-५३ को कोरियाली युद्ध युद्धविरामसँगै अन्त्य भएको थियो ।
युद्धविराम रेखापारि उत्तर कोरियाको केसाङ सहर गर्मीको धुवाँ र तुवाँलोबिच टाढैबाट देखिन्थ्यो । विश्वकै अग्लामध्ये एक १६० मिटर अर्थात् ५२५ फिट अग्लो खम्बामा फहराइएको उत्तर कोरियाको विशाल प्रचार झण्डा पनि उच्च आद्र्रताका कारण केही झुकेको देखिन्थ्यो ।
त्यसै, समयमा दक्षिण कोरियाको राजधानी सियोलमा अधिकारीले नागरिकलाई बाहिरी गतिविधि रोक्न आग्रह गर्दै आपतकालीन चेतावनी जारी गरिरहेका थिए । तर केसाङको बाहिरी क्षेत्रमा हेर्ने मञ्चबाट दूरबिनमार्फत हेर्दा मानिस साइकल चलाइरहेका र खेतमा काम गरिरहेका देखिन्थे । विज्ञका अनुसार आर्थिकरूपमा एकान्तमा रहेको उत्तर कोरिया अत्यधिक गर्मीको सामना गर्न दक्षिण कोरियाभन्दा कम सक्षम छ ।
वैज्ञानिकहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसमका चरम घटना थप तीव्र बन्दै गएको बताउँदै आएका छन् । गर्मीको लहरबिच उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले सर्वोच्च नेता किम जोङ–उनले गत वर्ष उदघाटन गर्नुभएको वोनसान समुद्री रिसोर्टमा नागरिकको भीड लागेको दृश्य पनि प्रसारण गरेको छ ।
ती दृश्यमा मानिस कायाक तथा विभिन्न रङका फुल्ने खेलौनामा समुद्रमा रमाइरहेका र जेटस्कीमा समुद्र किनारमा दौडिरहेका देखाइएको थियो । “समुद्री तट बिहान ८ बजेतिर मानिसको भीडले भरिन्छ र रातिसम्मै चहलपहल रहन्छ”, सरकारी टेलिभिजनको समाचारमा भनिएको थियो ।
-गर्मीमा राहतको अभाव-
तर राज्य सञ्चारमाध्यमले देखाउने समुद्री रिसोर्टको दृश्यभन्दा बाहिर उत्तर कोरियाका धेरै नागरिकका लागि गर्मीबाट राहत पाउने सुविधा सीमित रहेको विज्ञहरू बताउँछन् । गरिबी र कमजोर पूर्वाधारका कारण देशका धेरै क्षेत्रमा वातावरण अनुकूलन, पर्याप्त विद्युत् र स्वच्छ पानीको पहुँच चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ ।
स्टिम्सन सेन्टरको कोरिया कार्यक्रमकी वरिष्ठ फेलो राचेल मिन्युङ लीले उत्तर कोरियाली राज्य सञ्चार माध्यमले पानी र विद्युत आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिनुले ती आधारभूत सेवा दबाबमा रहेको सङ्केत गर्ने बताउनुभएको छ । “उत्तर कोरियालीहरू सम्भवतः दक्षिण कोरियालीभन्दा गर्मीबाट बढी प्रभावित छन्, किनकि उनीहरूसँग दक्षिण कोरियामा जस्तो पूर्वाधार छैन”, उहाँले भन्नुभयो ।
विश्व खाद्य कार्यक्रमका अनुसार करिब दुई करोड ६० लाख जनसङ्ख्या रहेको उत्तर कोरियामा ४० प्रतिशत भन्दा बढी मानिस कुपोषणबाट प्रभावित छन् । यस्तो अवस्थामा गर्मीबाट राहत पाउन आवश्यक सुविधा र पर्याप्त खाद्यान्नको उपलब्धता पनि ठूलो चुनौती बन्ने गरेको छ ।
यसको विपरीत, दक्षिण कोरियाको राजधानी सियोलमा मानिस आयातित कफीबाट बनाइएका आइस्ड ल्याटे, इटालियन जिलेटो र दक्षिण अमेरिकी असाई फलबाट तयार गरिएका चिसा परिकार सेवन गरेर गर्मी छलिरहेका छन् । दक्षिण कोरियाली अधिकारीले नागरिकलाई वातावरण अनुकूलित स्थानमा बस्न र लामो समय घाममा नबस्न पटकपटक आग्रह गरेका छन् । एक व्यक्तिसमेत बेसबल खेलका क्रममा गर्मी सम्बन्धी समस्याका कारण ढलेका थिए ।
तर लीका अनुसार उत्तर कोरियाका प्रान्तीय क्षेत्रमा रहेका कारखानासमेत दीर्घकालीन विद्युत अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उहाँका अनुसार यसले प्योङयाङबाहिरका धेरै नागरिकसँग वातावरण अनुकूलन वा विद्युतीय पङ्खाको समेत सीमित पहुँच रहेको देखाउँछ र यसका कारण हालको चरम गर्मी सहन उनीहरूलाई थप कठिन भइरहेको छ ।
उत्तर कोरियाको राज्य सञ्चार माध्यमले देशको मूल राष्ट्रिय सिद्धान्त ‘जुछे’ अर्थात् आत्मनिर्भरतालाई निरन्तर प्राथमिकता दिँदै आएको छ । त्यहाँका सञ्चार माध्यमले प्योङयाङका सैन्य, आर्थिक र सांस्कृतिक उपलब्धिलाई आत्मनिर्भरताको प्रमाणका रूपमा प्रस्तुत गर्ने गरेका छन् भने दक्षिण कोरियालाई आफ्नो ‘सबैभन्दा शत्रुतापूर्ण’ प्रतिद्वन्द्वीका रूपमा चित्रण गर्ने गरेका छन् ।
तर खानपानका केही परम्परा भने दुवै कोरियामा अझै साझा छन् । सामग्ये-ताङ दक्षिण कोरियामा पनि लोकप्रिय परिकार हो र विशेष गरी गर्मीका समयमा यसको माग बढ्ने गर्छ । सियोलस्थित जाङ्सु सामग्ये–ताङ रेस्टुरेन्टका सञ्चालक सोन ह्युङ-सिओले तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि मानिस बाहिर निस्कन कम गर्ने बताउनुभयो । “यस्तो अवस्थामा मानिस बाहिर जानबाट जोगिन्छन् । त्यसैले सामान्यतया जाडोको तुलनामा गर्मीमा बढी ग्राहक आउने भए पनि अहिले व्यापार सुस्त पार्नुबाहेक अरू विकल्प छैन”, उहाँले भन्नुभयो । रासस/एएफपी


















