
काठमाडौँ, जेठ १२ गते । लमजुङको राजाका रूपमा शाहवंश स्थापित गर्ने खाजे दुरालाई इतिहासमा सम्मानित मानिन्छ । राज्यसत्तामा निकट सम्बन्ध राख्ने त्यो दुरा जाति वर्तमानमा आर्थिक, सामाजिक, भाषा, सांस्कृतिक हिसाबले सीमान्तकृत समूहमा रहेको छ ।
दुरा जातिले अहिले पनि खाजे दुरालाई आफ्नो अगुवाका रूपमा सम्मान गर्दछ । उनीहरूले २०३७ सालमै लमजुङ च्यानटारमा खाजेको सालिक राखेका छन् । दुरा जातिको मूल भूमि दुराडाँडा हो । तथापि खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, कानेश्वर, बासपानी, नेटा कुन्छा, तान्द्राङ, वर्धान, हाँडीखोला, वास्के, लाङ्दीलगायत ठाउँमा पनि दुरा जाति फैलिएको पाइन्छ ।
रामेछापमा दुरागाउँ छ । अहिले यो ठाउँ लिखु तामाकोशी गाउँपालिकामा पर्दछ तर त्यहाँ दुरा छैनन् । दुरा जातिको रोचक किंवदन्ती छ । पूर्वसांसद तथा स्थाननाम र स्थानीय इतिहास खोजकर्ता देवशङ्कर पौडेलका अनुसार कुनै समय दुरागाउँको उच्च मैदानी भागमा दुरा जाति बस्दथे । कुनै तान्त्रिकले पहिरो जान्छ भन्ने जाल गरेपछि त्यहाँबाट विस्थापित दुरा लिखुखोला तरेर पारितिर लागेर बसे । अहिले सो ठाउँ ओखलढुङ्गा जिल्लामा पर्दछ, जहाँ दुरागाउँ भन्ने ठाउँ छ ।
मेचीदेखि महाकाली–भाग ३ (२०३१) मा ‘लमजुङको एउटा रमाइलो डाँडामा दुरा जातिको बस्ती भएकाले यसलाई दुराडाँडा’ भनिन्छ भनिएको छ । दुराडाँडा र दुरा जातिको अन्योन्याश्रित सम्बन्ध छ । मेचीदेखि महाकालीमा उल्लेख गरिए अनुसार लमजुङको दक्षिणी भेगको उच्च पहाडी भागमा दुराहरूले कहिलेदेखि बस्ती बसालेको भन्ने कुरा थाहा भइसकेको छैन तर लमजुङको दरबारमा शाहवंशलाई स्थापना गर्नमा स्थानीय दुराको निकै महत्वपूर्ण भूमिका रहेको कुरा इतिहासमा उल्लेख छ ।
मेचीदेखि महाकाली अनुसार पहिले दुरा जातिका मानिसले बढी मात्रामा बसोबास गरेको डाँडा भएकाले त्यसलाई दुराडाँडा भनिएको भन्ने जनश्रुति छ । त्यही डाँडाका मानिसले राजा यशोब्रह्म शाहलाई कास्कीका राजा कुलमण्डनसँग मागेर ल्याई लमजुङको राजा बनाएको कुरा इतिहासकारहरूले उल्लेख गरेका छन् ।
दुरा जातिको शारीरिक बनोट गुरुङसँग मिल्दोजुल्दो देखिन्छ । गुरुङ र मगरको भाषिक तथा सांस्कृतिक प्रभावमा लामो समय रहेकाले पनि सायद त्यस्तो देखिएको हुन सक्छ । मुक्तिनाथ घिमिरेले प्राचीन नेपालमा “दुरा जाति न होचा, न अग्ला, मोटो घाटो शरीर भएका, करिब मङ्गोल वर्ण भएका, सज्जन आनीबानी भएका, निश्चित विचारका, हँसिलो मोहडा भएका, मिलनसार समाजको एक जाति हो,” भनेका छन् ।
यमबहादुर दुराले दुरा इतिहास र संस्कृति (२०७९) पुस्तकमा गोलो अनुहार, थेप्चो नाक, चिम्सो आँखा, होँचो तथा चौडा शरीर नै दुरा समुदायको सामान्य शारीरिक रूपरेखा हो भनेका छन् । दुरा (विशेष लमजुङ्गे) ले पनि अन्य जातिले जस्तै लुगा लगाउने गर्छन् । पुरुषहरू भोटो, पटुका र कछाड लगाई टाउकोमा टोपी लगाउँछन् । महिलाले चोलो, घलेक, पटुका, गुन्यु, पोते, आदि लगाउँछन् ।
लोकसंस्कृतिको घेरामा लमजुङ (२०४१) पुस्तकमा धर्मराज थापाले दुराडाँडा यात्राको रोचक विवरण उतारेका छन् । उनले भनेका छन्, “दुराडाँडा नाम सार्थक पार्न विसं १५५० मा खजे दुराले चाँदीका जाबीमा बोकेर जम्सजिजु (यशोब्रह्मा) शाहलाई तर्लुङकोटमा ल्याएर बिसाएको इतिहास दुराडाँडाले नै मलाई बताइरहेछ ।”
राष्ट्रिय जनगणना, २०७८ अनुसार दुरा जातिको जनसङ्ख्या पाँच हजार ५८१ रहेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दुरा जातिलाई सीमान्तकृत समूहमा राखेको छ । दुरा भाषा चिनियाँ तिब्बती महाभाषा परिवारको पश्चिमी भोट बर्मेली भाषा परिवारभित्र पश्चिमी बोडिस भाषा अन्तर्गत पर्दछ । लमजुङ जिल्लाको दुराडाँडामा बोलिने यो भाषालाई मृतप्रायः भाषाका रूपमा लिइन्छ । जाति र भाषाको नाम दुरा नै रहेको छ ।
घाटु र रोदीमा रम्ने
यो जातिमा प्रायः रिस र आन्तरिक प्रतिशोधको भावना नहुने र परम्परागत रूपमा दुरा जातिको आफ्नै भाषा भए पनि लोप हुँदै गएको भनेर मुक्तिनाथले उल्लेख गरेको पाइन्छ । उनीहरू चाडपर्व, मेला, उत्सवमा रमाउने दुरा जाति विनोदप्रिय मानिन्छन् । मुक्तिनाथ घिमिरेका अनुसार दुरा जातिको बाल्यकालदेखि नै मनोरञ्जनमा बानी बसेको पाइन्छ । मनोरञ्जनमा एक महìवपूर्ण अङ्ग हो– रोदी ।
उनले एउटा गाउँमा चार वटासम्म रोदीघर हुने चर्चा गरेका छन् । उमेरका आधारमा जेठी रोदी, माहिली रोदी, साहिँली रोदी र कान्छी रोदी हुने तथा आआफ्ना दामली भएका ठाउँमा जान्छन् भनी उल्लेख गरिएको पाइन्छ । रोदीमा मादल, खैँजडी, मुजुरा, मुरली बजाएर नाचगान गरी मनोरञ्जन गर्ने र त्यस्ता रोदीमा कहिलेकाहीँ बुढापाका पनि भेला हुने गरेको चर्चा उनले गरेका छन् ।
दुरा जातिमा घाटु नचाउने पनि चलन छ । १५ वर्षमुनिका केटीलाई ठूला माला, जन्तर, काँडे बाला र कपडा लगाई सिँगारेर नचाउने चलन रहेको छ । वरिपरि धेरै मानिस बसेर घाटुका गाथा गाउने र एक हप्तासम्म यो रमाइलो मेला चलाएर वैशाख पूर्णिमाको भोलिपल्ट समाप्त हुने मुक्तिनाथले उल्लेख गरेका छन् । घाटुनाच औँसीबाट नचाउन सुरु गरिन्छ । वैशाख पूर्णिमालाई घाटु नृत्यको उत्कर्ष दिन मानिन्छ ।
लाँकुरीको चौतारीमा अन्डा
दुरा जातिमा वैशाख पूर्णिमाको दिनमा लाँकुरी चौतारीमा गाउँले भेला भई फूल, अक्षेता, ध्वजा चढाएर पूजा गर्छन् । लाँकुरी चौतारीमा छापिएको ढुङ्गामुनि कुखुराको अन्डा राखिएको हुन्छ । अर्को वर्ष पूजाका बेला त्यस अन्डालाई हेरेर आउँदो दिन कस्तो हुन्छ भनेर भविष्यवाणी गर्ने पनि गरिन्छ ।
दुरा जातिले स्थानीय लवजमा दुराहरूले ‘वैशाख पूर्ने’ भन्ने गरेको यमबहादुर दुराले दुरा इतिहास र संस्कृति पुस्तकमा उल्लेख गरेका छन् । वैशाख पूर्णिमाका दिन पितृको स्मृतिमा वायुपूजा गरिन्छ ।
दुरा जातिले साउनेसङ्क्रान्ति पनि विशेष रूपमा मनाउँछन् । साउनेसङ्क्रान्तिको साँझमा सिरु, भलायो, मगरकाँची, कुरिलो, लेतेझार, कोचे, कातहटुवा, पानीसरा र कुकुरडाइनाको मुठो दैलोमा झुन्डाएर रोगव्याधि नाश हुने विश्वास दुरा जातिमा छ ।
साँझ घर घरबाट अगुल्टो फाल्ने पनि गरिन्छ । ‘साउनेसङ्क्रान्ति मादल फुक्ने दिन’ भएको यमबहादुर दुराले दुरा इतिहास र संस्कृतिमा उल्लेख गरेका छन् । साँझ रोदीघरमा युवकयुवती भेला भई नाचगान गरिन्छ । यही दिनमा गाउँमा गुरुबाउ मान्ने पनि गर्छन् । गुरुबाउकोमा कोसेली लिएर गई घाटुनाचलगायत सांस्कृतिक गतिविधि अघि बढाउने अनुमति मागिन्छ ।
साउनेसङ्क्रान्तिको साँझमा युवकयुवती र बालबालिकाले तिउरी लगाउने गर्छन् । कतैकतै सङ्क्रान्तिको राति झाँक्री डाक्ने पनि गरिन्छ । भोलिपल्ट गाउँ बार्ने परम्परासमेत रहेको छ ।
यो समुदायमा तिज, दसैँ, तिहार, पुसे पन्ध्र, माघेसङ्क्रान्ति, शिवरात्रि, श्रीपञ्चमी, फागुपूर्णिमा र चैते दसैँ पर्व पनि उल्लाससाथ मनाउने गरिन्छ । दुरा जातिमा भयाँरपूजा, भूमेपूजा, वायुपूजा, थानीपूजा, उँभौली–उँधौली पूजा, हरेलोपूजा, कुलपूजा, बाटो छेक्ने जस्ता पूजाआजा प्रचलित छन् । दुरा समुदायले पूजाआजालाई जीवनशैलीको एक हिस्साका रूपमा आत्मसात् गरेको पाइन्छ, (दुरा, यमबहादुर, दुरा इतिहास र संस्कृति) ।
‘बाटो छेक्ने’ पूजालाई ‘बाटो धुर्ने’ पनि भनिन्छ । यो अलि रोचक पनि हुन्छ । शनिबारको दिन गरिने पूजा भएकाले ‘शनिसरे पूजा’ पनि भन्ने गरिन्छ । चैत या वैशाख महिनामा गाउँको चारैतिर बाटो छेक्ने गरिन्छ । यो पूजा प्रायः शनिबार हुने गर्छ । बाटो छेक्दा भक्यौँलाको काठले प्रवेशद्वार बनाइन्छ ।
कि भागी कि मागी
दुरा जातिमा भागी विवाह र मागी विवाह मात्र चल्छ । परम्परागत रूपमा फुपूको छोरा र मामाको छोरीबीचको विवाहलाई पहिलो प्राथमिकता दिइन्छ तर मामाको छोरा र फुपूको छोरीबीच विवाहवारी चल्दैन । फुपू चेला र मामा चेलीबीच विवाह गर्ने पुरानो परम्परा भए पनि अचेल यस्तो परम्परा भत्किँदै गएको देखिन्छ ।
नेपाली जनजीवन (दोस्रो सं २०५२) मा नगेन्द्र शर्माले लेखेका छन्, “दुराहरूको वैवाहिक सम्बन्ध सोही जातिभित्र मात्र सीमित छ । साधारणतया बिहे दुई तरिकाले गरिन्छ । एक त दुलहादुलहीको राजीखुसीले दुलहीलाई भगाएर लैजाने र अर्को परिवारले मिलाई सम्बन्ध जोडिदिने ।”
परिवारले मिलाइदिने बिहे ज्यादै खर्चिलो र लामो प्रक्रिया गर्नुपर्ने हुन्छ । भगाएर बिहे गर्दा दुलही घरभित्र पस्ने बेलामा ढोकामा एउटा कुखुराको भोग दिने गरिन्छ । त्यसरी कुखुराको भोग दिएपछि बिहेको विधि सम्पन्न भएको मानिन्छ ।
सरिना गुरुङ र लोकबहादुर दुराले ‘दुरा जातिको चिनारी’ (२०७५) पुस्तकमा “विवाहको कुरा मिल्ला जस्तो भएपछि केटी पक्षबाट रक्सी र रोटी बोकी केटी माग्न गइन्छ,” भनिएको छ ।
सिन्का–पाङ्ग्रो गर्ने
दुरा जातिमा पारपाचुकेको रोचक परम्परा छ । यमबहादुर दुराका अनुसार दुरा जातिमा सम्बन्धबिच्छेद गर्ने कार्यलाई ‘सिन्का–पाङ्ग्रो गर्ने’ भनिन्छ । श्रीमान्ले श्रीमती छाड्न चाहेमा ‘ला फरिया लगा’ भनेर केही रकम दिने गरिन्छ । श्रीमतीले श्रीमान् छाड्न चाहेमा ‘ला कछाड लगा’ भनेर केही रकम दिने गरिन्थ्यो । तथापि यो चलन अहिले नभएको दुराले उल्लेख गरेका छन् ।
दुरा जातिमा शिशु जन्मेको छैटौँ दिनमा सुत्केरी र शिशुलाई नुहाइधुवाई गरी चोख्याइन्छ । सुत्केरी कोठाबाट शिशुलाई नचाउँदै बाहिर ल्याउने गरिन्छ । शिशुको नाभीलाई चौतारीमा गाड्ने या त्यसकै जन्तर बनाएर घाँटीमा लगाइदिने चलन पनि छ ।
तर न्वारान सातौँ, नवौँ र एघारौँ दिनमा गरिन्छ । न्वारानमा शिशुको बुवा अनिवार्य उपस्थित हुनुपर्ने चलन छ । न्वारानको दिन घरबाहिर निकालेर सूर्य दर्शन गराइन्छ । विवाहित चेलीले घरवरिपरि गहुँत छर्केर चोख्याउने काम गरिन्छ ।
यो जातिमा जन्मबारका आधारमा न्वारानको नाम राख्ने चलन पनि छ । न्वारानका बेला घरका बाजेबज्यैले बेसार खरानीले रङ्गाइएको धागोको डोरो शिशुको हात, गोडा, कम्मर र घाँटीमा बाँधी दिने चलन छ । शिशुलाई रोगव्याधि नलागोस् भनेर यस्तो गरिन्छ ।
छोरा भए धनुषकाँड भिराइदिने र छोरी भए सालको पातको डोको वा डालो बोकाइदिने र छाता ओढाइदिने चलन छ ।
यो जातिमा भात खुवाइको पनि चलन छ । छोरा भए छ महिना र छोरीलाई पाँच महिनामा भात खुवाइ गरिन्छ । यस जातिमा पनि छेवर गर्ने परम्परा छ । बिजोर वर्षहरू पाँच, सात, नौ वा ११ मा छेवर गरिन्छ । त्यसअघि बालकको कपाल काटिन्न । छेवरमा मामा अनिवार्य चाहिन्छ । बालकको छेवर गर्नुअघि मावली गाउँबाट गुरुबा र ‘गर्राभाइ’ ल्याई कृष्णचरित्रमा आधारित नाच नचाइन्छ । यसखाले कर्मलाई ‘पुटपुटे’ भनिन्छ । छोरीलाई बिजोर वर्ष पारेर गुन्युचोली दिने चलन पनि दुरा जातिमा छ । छोरीको मासिक धर्म हुनुअघि नै गुन्युचोली दिनु पर्छ ।
शवमा ‘छिकुटा’
आफ्नै भाषा, संस्कृति र परम्परा रहेका दुरा जातिमा मृत्यु संस्कार पनि आफ्नै पनको छ । उनीहरूको मृतक परेमा आफन्त र दाजुभाइले तीन दिनसम्म नुन बार्छन् । मृतक परेको दिन छाक छाड्छन् । पराइघर गएकी चेलीले पिउरी नल्याएसम्म सदगद प्रक्रिया नै अघि बढ्दैन । अन्तिम संस्कारका लागि ‘छिकुटा’ वनस्पति अनिवार्य मानिन्छ । शव राख्ने बाँस र छिकुटा ल्याउने कार्य ज्वाइँचेलाले गर्नु पर्छ । मृत्यु संस्कार लामा वा घ्याब्रे पुरोहितले गर्छन् ।
शव गाड्ने र जलाउने दुवै चलन यो जातिमा छ । परम्परागत रूपमा यस्तो निर्णय लामाले लिन्थे । अहिले जलाउने चलन नै बढी प्रचलनमा छ । यमबहादुर दुराका अनुसार पहिला पहिला घाटमा कुखुराको चल्ला लैजाने गरिन्थ्यो । पुरुष मृतक भए भाले चल्ला र मृतक महिला भए पोथी चल्ला लगिन्थ्यो । घाट पुगेपछि चल्लाले जहाँ खोस्रियो त्यहीँ चिता वा चिहान बनाउने गरिन्थ्यो ।
पुरुष भए आयातकार र महिला भए त्रिकोणात्मक चिहान बनाउने चलन थियो । यो जातिमा १३ दिन किरिया बस्ने चलन छ तर अहिले आवश्यकता अनुसार तीन दिनमा पनि किरिया सक्ने चलन छ ।


















