
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २० गते । ग्यास विक्रेता महासङ्घ नेपालले उद्योगबाट हुने खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र ग्यास वितरणको व्यवस्था गर्न माग गरेको छ ।
महासङघका अध्यक्ष ज्ञानेश्वर अर्यालले विज्ञप्ति जारी गर्दै भनेका छन्,“उद्योगबाट निरन्तर हुँदै आएको ग्यासको खुद्रा बिक्री बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री गरियो भने वितरण प्रणाली व्यवस्थित हुनेछ र उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने अवस्था सिर्जना हुनेछ ।”
महासङ्घले हालसम्म पनि उपभोक्ताले ग्यास सहजरूपमा पाउन नसकेको उल्लेख गरेको छ ।
ग्यासको अभाव कायमै रहनुको कारण बजारमा आवश्यकताभन्दा धेरै सिलिन्डर रहेको उल्लेख गर्दै महासङ्घले अझै पनि ग्यास उद्योगले २,५०० देखि २,७०० रुपैयाँ लिएर नयाँ सिलिन्डर बिक्री गरिरहेको आरोप लगाएको छ ।
निगम र सरकारले धेरैअघि नै नयाँ सिलिन्डर बिक्री रोक्ने निर्णय गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको आरोप अध्यक्ष अर्यालको भनाई छ । बजाजमा रहेका अनावश्यक खाली सिलिन्डर फिर्ता व्यवस्थापन नगरी थप सिलिन्डर बजारमा ल्याउँदा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको महासङ्घको भनाइ छ।
ग्यास उद्योगले ५ केजी, १९ केजी, ५० केजी र ४५० केजी क्षमताका सिलिन्डर बिक्री गर्ने योजना सार्वजनिक गरेकोप्रति समेत आपत्ति जनाएको छ ।
महासङ्घले भनेको छ, “बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी फिर्ता गर्नुको सट्टा फेरी आगामी वर्षहरूमा आम उपभोक्तालाई लुटाउने गरी ५ के।जी।,१९ केजीर ४५० केजीको सिलिन्डर बिक्री गर्ने योजना सभ्य समाजलाई स्वीकार्य हुन्न ।”
अध्यक्ष अर्यालले समस्याको वास्तविक कारण पहिचान गरी सरोकारवालासँग परामर्श गरेर आपूर्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
“ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र १४।२ केजी क्षमताका सिलिन्डरको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।


















