
कञ्चनपुर, भदौ १८ गते । सुदूरपश्चिमेलीहरूको महान् चाड गौरा पर्वको अवसरमा कञ्चनपुरका ६ पालिकाले बिहीबार स्थानीय बिदा दिएका छन्। बुधबार सूचना जारी गर्दै यहाँका ६ स्थानीय तहले एक दिनका लागि आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले धार्मिक एवं ऐतिहासिक धरोहरका रूपमा रहेको गौरा पर्वले मौलिक संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएको बताउनुभयो। पर्वलाई हर्षोल्लासका साथ मनाउन सहज होस् भन्ने उद्देश्यले बिहीबार नगरपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिसचन्द्र रानाले बिहीबार अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरू बन्द रहने बताउनुभयो। भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले गौरा पर्वको अवसरमा बिहीबार नगरपालिका क्षेत्रभित्रका नगरपालिका कार्यालय तथा मातहतका कार्यालय, निकाय, स्थानीय सङ्घ–संस्था र सम्पूर्ण शैक्षिक संस्थामा अत्यावश्यकबाहेकका सेवा बन्द रहने गरी स्थानीय बिदा दिने निर्णय भएको बताउनुभयो।
त्यसैगरी, शुक्लाफाँटा नगरपालिकाले पनि बिहीबार अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ। पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाले पनि गौरा पर्वको अवसरमा आज पालिकास्थित सम्पूर्ण सेवा बन्द रहने जनाएका छन्।
शुक्रबार सङ्घीय सरकारले गौरा पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ। यससँगै आगामी सोमबारदेखि यी पालिकाका सेवा सञ्चालनमा आउने जनाइएको छ।
मङ्गलबार पञ्चमीका दिनदेखि विधिवत् रूपमा गौरा पर्व मनाउन सुरु गरिएको हो। व्रतालु महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन पानीका मुहान तथा पँधेरामा बिरुडा धोएर गौरा देवीको स्थापना गरेका छन्। आज सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजाअर्चना गरी महिलाहरूले दुबधागो चढाउने प्रचलन छ। अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरी घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहिआएको छ।
सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको महत्त्व पुरुषले लगाउने जनैसरह रहेको आचार्य लोकराज ओझाले बताउनुभयो।


















