
काठमाडौँ, असोज १८ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको सडक सञ्जालमा बेलिब्रिज पुनः जडान भएसँगै यस क्षेत्रको जनजीवन बिस्तारै सहज बन्दै गएको छ ।
बेलिब्रिज जडान भएसँगै एक महिनादेखि ठप्प रहेको सो क्षेत्रको अर्थतन्त्र र दैनिक जनजीवनमा ठुलो राहत मिलेको छ । आपूर्तिमा सहजता आएको छ । बाढीपछि अभाव झेलिरहेका स्थानीय बस्तीमा खाद्यान्न, खाना पकाउने ग्यास र औषधीको आपूर्ति सहज बनेको छ ।
यस क्षेत्रमा व्यापारिक चहलपहलसमेत सुरु भइसकेको छ । रसुवागढी नाकामा अड्किएका कन्टेनर र सामान बोकेका गाडी सुरक्षित रूपमा गन्तव्यतर्फ लाग्न थालेका छन् । यसले आसन्न दसैँका लागि सामान आयात गर्ने व्यापारीलाई ठुलो राहत मिलेको छ । बेलिब्रिज जडानसँगै राहत तथा पुनस्र्थापना कार्यसमेत सहज रूपमा अगाडि बढेको छ । टेन्ट र अस्थायी आश्रय स्थलमा बसिरहेका बाढी प्रभावितका लागि राहत सामग्री ओसारपसार गर्न र पुनर्निर्माणका सामान ढुवानी गर्न सहज भएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बाढीपछि नुवाकोटमा बेलिब्रिज र बाटो पुनर्निर्माण भएसँगै जनजीवन बिस्तारै लयमा फर्कन लागेको बताउनुभयो । यसअघि नै तादीखोलामा एक्रोब्रिज निर्माण भई सञ्चालनमा आइसकेको छ ।
त्रिशूली वारिपारि जोड्ने ढुङ्गे भन्ने ठाउँमा र वेत्रावती बेलिब्रिज जडानको क्रममा छ । त्यसै गरी इन्द्रेणी, ढुङ्गे र देवीघाटमा झोलुङ्गे पुल निर्माण भइरहेका छन् । जिल्लाका विभिन्न भागमा भित्री बाटोसमेत निर्माण भइरहेका छन् । यसरी बेलिब्रिज, झोलुङ्गे पुल र बाटो निर्माण भइसकेपछि यस क्षेत्रको जनजीवन थप सहज हुँदै जाने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले यो क्षेत्रमा चार वटा तुइन र एउटा जिपलाइन सञ्चालनमा छन् । तुइन र जिपलाइन सञ्चालनले समेत बाढीपछिको जनजीवन सामान्य बनाउन सहयोग पुर्याएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले भोटेकोशी बाढीपछिको क्षतिग्रस्त सडकमा यातायात सञ्चालन गर्ने प्रयासले यहाँको जनजीवन बिस्तारै सहज बन्दै गएको बताउनुभयो । रसुवा र नुवाकोट जोड्ने ‘कनेक्सन’ का रूपमा रहेको वेत्रावतीमा निर्माणाधीन बेलिब्रिजको काम सम्पन्न भइसकेपछि यहाँको सामाजिक र आर्थिक क्षेत्र थप चलायमान हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अबको आठ/१० दिनमा सो बेलिब्रिज निर्माण भई सञ्चालनमा आउने गरी काम भइरहेको छ ।
बाढीपछि रसुवा जिल्लाको जनजीवन पहिलेकै अवस्थामा फर्कनका लागि सबैभन्दा ठुलो चुनौती यहाँको सडक सञ्जालको पुनर्निर्माण नै रहेको बताउँदै उहाँले सडक सञ्जाललाई पुनः पहिलेकै अवस्थामा फर्काउन यहाँका सबै निकाय लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँका पालिकाको ‘कनेक्टिभिटी’ जोड्नका लागि स्याफ्रुबेँसी र हाकुबेँसीमा तुइन निर्माण गरी आवश्यक दैनिकी सामान वारपार गरिएको छ ।”
सडक विभाग पुल महाशाखाका प्रमुख इन्जिनियर ललिजन खनालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी हिमबाढीका कारण विच्छेद भएको सडक सञ्जाललाई पुनः सञ्चालन गर्न बेलिब्रिज जडान कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । महाविपत्तिले अलग भएको जीवन र जीविकालाई बेलिब्रिज जडानले क्रमशः जोड्न थालेपछि नाजुक भएको आर्थिक तथा सामाजिक जनजीवन बिस्तारै सहज हुने अपेक्षा बढेको उहाँले बताउनुभयो ।
पुल महाशाखाका प्रमुख खनालले बाढीका कारण क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने सरकारको नीतिबमोजिम बाढीले पुल क्षतिग्रस्त भएका ठाउँमा बेलिब्रिज राख्ने काम तीव्र रूपमा अगाडि बढाइएको बताउनुभयो । विशेष गरी रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रसम्मको यातायात पुनः सञ्चालन गर्न विभिन्न स्थानमा बेलिब्रिज जडानको काम तीव्र पारिएको उहाँले स्पष्ट पार्नुभयो ।
बाढीले विशेष गरी रसुवा, नुवाकोट र धादिङ जिल्ला जोड्ने दर्जनौँ मोटरेबल तथा झोलुङ्गे पुल बगाएपछि सो क्षेत्रका यातायात पहिलेकै अवस्थामा सञ्चालन हुन सकेका छैनन् ।
भोटेकोशी बाढीबाट अवरुद्ध बनेका सडक तथा पुललाई असोजभित्रै सञ्चालनमा ल्याउने लक्ष्य अनुरूप विभिन्न स्थानमा बेलिब्रिज जडान द्रुत गतिमा भइरहेको छ । नेपाली सेना र सडक विभागका प्राविधिकले बेलिब्रिज क्षतिग्रस्त भएका ठाउँसम्म बेलिब्रिजका आवश्यक सामग्री ढुवानी गरी जडान सुरु गरिसकेका छन् । बेलिब्रिजको जग निर्माण तथा ट्रस जोड्ने काम सँगसँगै अगाडि बढाइएको छ । असोजभित्रै प्रमुख सडकखण्ड सञ्चालनमा ल्याउने लक्ष्यसहित प्राविधिक र सुरक्षा निकायलाई परिचालन गरिएको छ ।
बाढीले पूर्ण रूपमा ३५ वटा पुल क्षतिग्रस्त भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “क्षतिग्रस्त पुलमध्ये नुवाकोटको देवीघाटस्थित तादी नदी, त्रिशूली बजार र वेत्रावती बजारमा बेलिब्रिज राख्ने तयारी छ, जसमध्ये तादी नदीमा एक्रोब्रिज जडान भई सञ्चालनमा आइसकेको छ । अब वेत्रावती बजारमा जडानको तयारी अन्तिम चरणमा छ । त्रिशूली बजारमा जडानको तयारी भइरहेको छ ।”
पुल महाशाखाका प्रमुख इन्जिनियर खनालका अनुसार रसुवा र नुवाकोटको सिमानामा पर्ने वेत्रावतीको फलाखुखोलामा बेलिब्रिज राख्न जग खन्ने र प्राविधिक नापजाँचको काम भइरहेको छ । प्राविधिक टोलीले पहिरोग्रस्त टिरटिरभिर र कठिन भूगोलमा नयाँ ट्र्याक खोल्दै पुल जडानका पार्टपुर्जा पुर्याउने काम गरिरहेका छन् ।
बाढीका कारण चीनसँगको द्विपक्षीय व्यापार ठप्प भएकाले रसुवाको स्याफ्रुबेँसी र रोङ्गाखोला जस्ता रणनीतिक स्थानमा समेत बेलिब्रिज जडान प्राथमिकतामा रहेको बताउँदै उहाँले बाढी प्रभावित क्षेत्रमा सडक सञ्जाल सञ्चालनमा आउन नसकेकाले बेलिब्रिजका आवश्यक सामग्री ढुवानीमा कठिनाइ भइरहेको स्पष्ट पार्नुभयो ।
बेलिब्रिज ल्याइँदै
महाशाखा प्रमुख खनालले भारत, चीन र अमेरिकाबाट द्रुत प्रक्रियामार्फत बेलिब्रिज ल्याउने काम भइरहेको बताउनुभयो । आवश्यक बेलिब्रिजका लागि ती मुलुकलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । भारतबाट ७० मिटर लामो एउटा बेलिब्रिज नेपाल आइपुगेको बताउँदै उहाँले भन्नुभयो, “अहिलेसम्म चीनबाट एउटा बेलिब्रिज आएको छ तर त्यो काम लाग्दैन । एक सय मिटर लम्बाइ भएको भनेर पठाइएको छ तर बिचमा १२/१२ मिटरको खम्बा (पिल्लर) निर्माण गर्नुपर्ने देखिएको छ । यस कारण त्यो बेलिब्रिज नै भएन । अहिलेसम्म अमेरिकाबाट एउटा पनि बेलिब्रिज आइपुगेको छैन, दिन्छु भनेको छ ।”
जगेडामा दस वटा बेलिब्रिज
अहिले सडक विभागसँग ५० मिटरका १० वटा बेलिब्रिज जगेडाका रूपमा रहेका छन् तर बाढी प्रभावित क्षेत्रमा ७० मिटरभन्दा बढी लम्बाइका बेलिब्रिज मात्र आवश्यक पर्ने देखिएको छ । त्यसैले विभिन्न मुलुकसँग बेलिब्रिज माग गरिएको उहाँले स्पष्ट पार्नुभयो ।


















