
नेपाल प्रज्ञा–प्रतिष्ठानले देवकोटा–लु सुन प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा नेपाल–चीन द्विदेशीय साहित्यिक गोष्ठीको आयोजना गरेको छ । शुक्रबार (कात्तिक १३) काठमाडौंमा नेपाल र चीनबीचको सिर्जनात्मक सेतुमाथि चर्चा गरिएको हो ।
गोष्ठीमा चिनियाँ साहित्यकार लु सुनको स्मृतिमा स्थापित लु सुन कल्चर फाउन्डेसनका अध्यक्ष झाउ लिङफीले साहित्य एउटा विश्वव्यापी भाषा भएको र यसले मानव आत्मालाई जोड्ने बताए ।
साहित्यकार लु सुन र महाकवि लक्ष्मीप्रसाद देवकोटा चीन र नेपालको आधुनिक साहित्यिक इतिहासमा एकै धरातलमा उभिएका दुई महान् हस्ती भएका उनले उल्लेख गरे ।
कार्यक्रममा चाइना एकेडेमी अफ सोसल साइन्सका प्राज्ञले चीनका साहित्यकार लु सुन र नेपालका महाकवि देवकोटाको साहित्यिक कर्म र तिनले समाजमा पुर्याएको योगदानबारे चर्चा गरे ।
कार्यक्रममा साहित्यकार अभय श्रेष्ठले ‘लु सुन : सामन्ती समाजका डाक्टर’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे । उनले लु सुनका हरेक कृति विचार र कलाको अनुपम संगम भएको बताए ।
प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले चीनको आधुनिक साहित्यका प्रवर्तक लु सुनको साहित्यमाथि खुलेर चर्चा गर्न पाउनु आफ्ना निम्ति खुसीको विषय भएको बताए । उनले आफूले लु सुनका कथाहरू पढेको र उनको प्रसंशक भएको सुनाए ।
कार्यक्रममा चिनियाँ दूतावासका डीसीएम झाउ फ्याङ, प्रतिष्ठानका सदस्य सचिव डा. रोशन शेरचन, देवकोटा लु सुन प्रतिष्ठानका सुनीलकुमार पौडेलले आफ्नो धारणा राखेका थिए ।


















